मेचीनगर,असार २५ । मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७—०७८ का लागि १ अर्व २० करोड ६७ लाख रुपैयाँको वार्षिक बजेट पारित गरेको छ ।

प्रस्तुत बजेटमा सामाजिक सुरक्षाअन्तर्गतको रकम उल्लेख गरिएको छैन् । बजेटमा सामाजिक सुरक्षा कार्यक्रमको ४० करोड रुपैयाँ समावेश नभएको नगरप्रमुख विमल आचार्यले जानकारी गराए । १४ करोड ७ लाख रुपैयाँ घाटा बजेट रहेको प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङले बताए ।
नगरसभाको निर्णयबाट कार्यक्रम स्वीकृत गरी खर्च हुन सक्ने बजेट ७४ करोड ७ लाख रुपैयाँ रहेको जनाइएको छ । यसैगरी आगामी आर्थिक वर्ष ०७७—०७८ को क्षेत्रगत प्रस्तावित बजेट खर्च अनुमानमा प्रशासनिक खर्च १७ करोड ४७ लाख, वित्तिय व्यवस्थापन खर्च १ करोड, सामाजिक विकासका कार्यक्रममा १ करोड ४८ लाख, शिक्षा विकासका कार्यक्रममा १ करोड ३ लाख रुपैयाँ अनुमान गरिएको छ । यसैगरी कृषि विकासका कार्यक्रममा १ करोड ९ लाख, पशु सेवाका कार्यक्रममा ३५ लाख, वन तथा वातावरणका कार्यक्रममा २५ लाख, विभिन्न कोषहरु शववाहन र एम्बुलेन्स खरिदका लागि २ करोड ५८ लाख, आर्थिक विकासका कार्यक्रममा १ करोड २० लाख, स्वास्थ्य शाखा र कार्यक्रममा ३० लाख, वित्तीय हस्तान्तरण र सशर्त अनुदानका कार्यक्रममा ४६ करोड ६० लाख रुपैयाँलगायत व्ययतर्फका १२ वटा शीर्षकमा प्रस्तावित वजेट खर्च हुने अनुमान गरिएको छ ।
त्यस अवसरमा स्वास्थ्य शाखा संयोजक शशीकला राईसहित चारजना स्वास्थ्यकर्मीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ । शाखा संयोजक राईसहित ल्याव टेक्निसियन टीकाराम ढकाल, ल्याव असिस्टेन्ट कमला राजबंशी र एम्बुलेन्स चालक जंगबहादुर खडकालाई नगदसहित सम्मानपत्रले पुरस्कृत तथा सम्मान गरिएको हो । नगरसभामा आर्थिक समितिका ंसंयोजक सुदय पनेरु, विधायन समितिकी संयोजक कुसुम चौधरी, सार्वजनिक सेवा तथा क्षमता विकास समिति संयोजक विन्दा प्रसाई, पूर्वाधार विकास समितिका संयोजक कृष्ण कनाल, विपद् व्यवस्थापन तथा वन तथा वातावरण समितिका संयोजक टिकाराम मंग्राती, सामाजिक विकास समितिका संयोजक नविन बराल, न्यायिक समितिका सदस्य छोटबहादुर राई, राजश्व परामर्श समितिका सदस्य सचिव चक्रपाणि खनालले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्