झापा,असार २८ । झापामा नक्कली भारतीय रुपैयाँको कारोबार गर्ने एउटा गिरोह पक्राउ परेको छ ।

फाइल तस्वीर

पक्राउ पर्नेमा कनकाई नगरपालिका–३, सुरुङ्गाका सुन व्यवसायी ४३ वर्षिय मौसम श्रेष्ठ, कनकाई ४ बस्ने २९ वर्षिय खुर्सैद आलम र झापा गाउँपालिका ५ बस्ने २४ वर्षिय एराजुल हक रहेका छन् । उनीहरुबाट १ लाख ४४ हजारको नक्कली भारतीय रुपैयाँ बरामद भएको छ । बरामद नोटहरु पाँच सय भारुका रहेका छन् । गत बुधबार दिउँसो २ बजे खुर्सैद आलमले पाँच सयका भारतीय नोटहरुको कारोबार गरेपछि ती नोट कहाँबाट ल्याएको हो भनी खोजी गर्दा मौसम श्रेष्ठसँग लेनदेन गरेको र श्रेष्ठकै घरमा लुकाइ राखेको गोप्य सूचनाका आधारमा प्रहरीले हिजो छापा मारेको थियो । त्यसक्रममा श्रेष्ठलाई घरमै फेला पारी उनको घरबाट पाँच सयका २८८ थान नक्कली भारतीय रुपैयाँ बरामद भएको थियो । घरको पहिलो तलामा श्रेष्ठ सुत्ने कोठामा टिनको दराजभित्र रबरले बाँधेको र नबाँधेको अबस्थामा ती नोट बरामद भएको हो । त्यसपछि खरर्सैद आलमलाई खोजतलास गर्नेक्रममा आलम र एराजुल हकलाई सुरुङ्गा बजारमा फेला पारिएको थियो । उनीहरुको साथबाट नेपाली नोट एक हजारका ४ र पाँच सयका ३३ थान गरी २० हजार ५ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनैजनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ परेका तीनै जनालाई खोटाचलनसम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गर्ने तयारी भइरहेको छ । उनले भने, ‘म्याद थप गर्न लगेका छौं, त्यसपछि विस्तृतमा अनुसन्धान सुरु हुन्छ ।’ बरामद नोटमध्ये तीनवटा नोटसम्ममा एउटै नम्बर भेटिएको छ । पक्राउ परेका व्यक्तिले बयानमा डेढ लाख नक्कली नोट रहेको खुलाएका छन् । बरामद भए बाहेकको रकम खर्च भइसकेको हुनसक्ने एक अनुसन्धान अधिकृतले बताए ।उनीहरुले ल्याएको नोट कहाँबाट आएको भन्ने खुलिसकेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्