झापा असार २८ । निरन्तर वर्षाका कारण आएको बाढीले झापामा निकै क्षति पु¥याएको छ । बाढीका कारण दुई सयभन्दा बढी परिवार प्रभावित भएका छन् ।प्रभावितमध्ये केही विस्थापित भएका छन् भने धेरै डुबानमा परेका छन् ।

कनकाई नदीको भंगालो पस्दा शिवगञ्ज बजार डुवानमा परेको छ ।जनताको तटबन्धले निर्माण गरेको बाँध बगाएपछि बाढी शिवसताक्षी नगरपालिका ६ को शिवगञ्ज बजारमा पसेको हो । जसबाट १५ परिवार प्रभावित भएका छन् । प्रभावित हुनेमा सूर्य राजवंशी , रमेश राजवंशी, बुधकरण राजवंशीलगायत रहेको शिवसताक्षी नगरपालिका ६ का वडा अध्यक्ष मनोज खुलाल कार्कीले बताए । कनकाईको बाढीले करिव ५० मिटर बाँध भत्काएको कार्कीले जानकारी दिए । प्रभावित परिवारहरु कोही छिमेकी , कोही आफन्त र कोही इलाका प्रकरी कार्यालयमा आश्रय लिएका छन् । बाढीले शिवसताक्षी वडा नं ६ सँगै १ पनि प्रभावित भएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका मन्त्री चन्द्र चुडालले बताए ।

त्यस्तै कनकाई नदीमा आएको बाढीले गौरीगञ्ज गाउँपालिका १ होकलबारीका ६२ परिवार प्रभावित बनेका छन् । गौरीगञ्ज १ का होकलबारीका ११ परिवार विस्थापित र ३१ परिवार डुबानमा परेको वडाध्यक्ष कार्तिकलाल राजवंशीले बताए । त्यस्तै कमलबनियानी नदीमा आएको बाढीले बालुबारीका २० परिवार डुबानमा परेको उनले बताए । इलाका प्रहरी कार्यालय झिलझिले, प्रहरी चौकी कुन्जीबारी र १ नं प्रदेश विपद् व्यवस्थापन गुल्म चन्द्रगढीबाट गएको टोलीले उनीहरुलाई उद्धार गरेको थियो । उनीहरुलाई उद्धार गरी स्थानीय इन्द्रेणी प्राविमा ल्याएर राखिएको गौरीगञ्ज १ का वडा सदस्य राजभक्त सुनुवारले बताए । उनले बाढीपीडितहरुलाई सामान्य राहत वितरण गरिएको जानकारी दिए । कनकाईको बाढीले शनिबार तीन परिवार विस्थापित बनेका थिए । लगातारको वर्षाका कारण पानीको सतह बढ्दै गएपछि सिंगो टोल नै विस्थापित बनेको वडा सदस्य सुनुवारले बताएका छन् ।

त्यस्तै लगातारको वर्षाका कारण आएको बाढीले मेचीनगर नगरपालिका वडा नं ७ का ९ घर विस्थापित भएका छन् । पालिया खोला बगरमा रहेको सिद्धार्थ टोलका ९ घर डुबानमा परेपछि थप जोखिम हुन नदिन त्यस परिवारका ४२ जनालाई सुरक्षित स्थानमा ल्याएर राखिएको हो । मेचीनग। नगरपालिका र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको सहयोगमा उनीहरुलाई प्यारीभिट्टा बसपार्क भवनमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै झापा गाउँपालिकाका १०७ परिवार , कचनकवल गाउँपालिकाका ५० परिवार तथा भद्रपुर नगरपालिका ८ र ३ का २८ परिवार प्रभावित बनेको जिल्ला रेडक्रसले जनाएको छ । झापामा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ भने अर्का बेपत्ता भएका छन् । झापा गाउँपालिका ५ स्थित बिरीङ खोलाले बगाउँदा शनिबार स्थानीय ३५ वर्षिय राजेश गणेशको मृत्यु भएको हो । दिउँसो २.३० बजेतिर मलामी जाँदा पौडी खेल्ने क्रममा उनलाई बाढीले बगाएर बेपत्ता बनाएको थियो । इलाका प्रहरी कार्यालय कुमरखोद र प्रहरी चौकी शरणामतीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले खोजतलास गर्दा गाउँलेको सहयोगमा साँझपख उनको लाश फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रहेका प्रहरी नायव उपरीक्षक राकेश थापाले जनाएका छन् ।

त्यस्तै मेची नदीले बगाउँदा भद्रपुर नगरपालिका ३ बस्ने ३३ वर्षिय हिरण राई बेपत्ता भएका छन् । भद्रपुर ३ नाउँघाटस्थित मेची खोलामा पौडी खेल्ने क्रममा उनी बेपत्ता भएका हुन् । अपरान्ह ४.३० बजे बेपत्ता भएका राईलाई अझै नभेटिएको प्रहरी चौकी महेशपुरले जनाएको छ । निरन्तरको भारी वर्षाका कारण विभिन्न खोलामा आएको बाढीले जिल्लामा जनधनको क्षति पुर्याएको छ ।यसैबीच जिल्ला बिपद ब्यबस्थापन समितिको आइतबार आकस्मिक बैठक बस्यो । कन्काइ नगरपालिकास्थित समर्पण भवनमा बसेको बैठकमा झापा गाउँपालिका ,शिवसताक्षी नगरपालिका र कन्काइ नगरपालिकाका प्रमुखहरुले आफ्नो पालिकाको बस्तुस्थितिबारे जानकारी दिएका थिए । सुरक्षा निकायका प्रमुख र रेडक्रस सभापतिले आफ्नो तयारी र भएगरेका कामको जानकारी दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्