शिवगञ्ज , असार २९ । लामो कोरोना कहरका कारण कसैले पनि अहिले सहज रूपमा काम गर्ने अवस्था छैन । सबै क्षेत्रका काम चैत ११ देखि रोकिएका छन्। केही दिनदेखिको अविरल वर्षाले जनजीवन थप कष्टकर बनेको छ । यतिबेला सबैको ध्यान कोरोना र बाढीबाट कसरी जोगिने भन्नेमा केन्द्रित छ । तर,झापा शिवसताक्षी ६ का वडाध्यक्ष मनोज खुलाल कार्की असहज परिस्थितिमा पनि केही न केही नौलो काम गरिरहेकै छन् ।

उनी र उनको टिमले यही बीचमा झोला बनाउने तालिम सिध्याएको छ । त्यो पनि ४७ जना बीचमा भौतिक दुरी कायम गरेर । “ हामीले महिलालाई आत्मनिर्भर र व्यवसायी बनाउन यो तालिम चलाएका हौँ” वडाध्यक्ष कार्कीले भने,“ लकडाउनको सदुपयोग गर्दै वडाका महिलालाई १० दिने झोला बनाउने तालिम दिन सकियो यो पनि उपलब्धि नै मान्नु पर्छ ।”
महिलाहरुलाई आवश्यक सीप सिकाएर आत्मनिर्भर बनाउने उद्धेश्यले झोला बनाउने तालिम दिएको उनले बताए । आयमा वृद्धि गर्न सघाउँ पुगोस् भनेर वडा कार्यालयले तालिम गराएको वडाध्यक्ष कार्कीले जनाए । तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न जोड दिँदै ४७ जनाले काम गरे वडाको उत्पादनले अन्यत्र पनि सकारात्मक सन्देश दिन सहयोग पुग्ने वडाध्यक्ष कार्की बताउँछन् । झोला बनाउने तालिमले नगरमा उद्यमशीलताको आधार तयार हुने शिवसताक्षी उद्योग बाणिज्य संघका अध्यक्ष भोलानाथ मैनालीको तर्क छ । उनले यसखालको कार्यक्रमलाई निरन्तरता दिँदै नगरबासीलाई व्यावसायिक महत्व बुझाउन सक्नु पर्नेमा जोड दिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शिवसताक्षीका नेता लोकबहादुर रोक्काले वडा कार्यालयको काम सकारात्मक भएको बताए । यसले स्थानीयस्तरमा बेरोजगार बस्नु पर्ने बाध्यताको न्यूनीकरण गर्न टेवा पुग्ने बताए । केहीदिन अघि वडाका सात दलित परिवारलाई सिलाइ मेसिन दिएर स्वरोजगार बनाउन सहयोग गरेको वडाले झोला बनाउने तालिम दिएर आवश्यकता बोधको उदाहरण प्रस्तुत गरेको रेडक्रस शिवसताक्षीका सभापति नारायण दाहालको ठम्याइ छ ।शिवसताक्षी नगर उपप्रमुख भोजकुमारी नेपालको प्रमुख आतिथ्यता भएको समापन कार्यक्रममा शिवसताक्षी ६ वडा सदस्य लक्ष्मीप्रसाद गुरागाई, बद्री खनाल, उषा केसी, नरमाया परियार, वडा सचिव नवराज घिमिरे, प्याब्सन प्रदेश १ का उपाध्यक्ष मिलन ढुङ्गाना, आमा समुहकी अध्यक्ष मीना राई, भारती न्यौपाने, धनबहादुर राई, पार्वता कडरिया, वडा खेलकुद विकास समितिका अध्यक्ष गोकुल विमली लगायतको आतिथ्यता रहेको थियो ।तालिम बिराट प्राविधिक शिक्षा एवम् परामर्श प्रालिको सहयोग र समन्वयमा भएको हो ।कार्यक्रममा प्रशिक्षक तारा अधिकारी, निर्मला भण्डारीलाई मायो चिनो सहित प्रशंसापत्र प्रदान गरिएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्