विगत १० वर्षदेखि झापा जिल्लाको बिर्तामोडमा मुख्य कार्यालय रहेर संचालनमा रहेको शिखर बचत तथा ऋण सहकारी संस्था सहकारीको क्षेत्रमा अलग्गै पहिचान बनाउन सफल भएको संस्था हो । युवा संचालक हुनु यस संस्थाको विशेषता हो भने समयसापेक्ष संस्थालाई प्रविधिमैत्री बनाउँदै सदस्यहरुलाई प्रविधिमार्फत जोडेर धेरै वित्तीय कारोवार गर्न सक्नुलाई संस्थाको सफलता मान्नु पर्छ । कोरोना भाइरसको कारण मुलुकमा उद्योग ,कलकारखाना ,व्यापार ,व्यवसाय ,पर्यटन,यातायात र रोजगार समेत गुमेको अवस्थालगायत वित्तीय क्षेत्रमा अकल्पनीय क्षति पुगेको छ । सरकारले चैत्र ११ गतेबाट लकडाउन घोषणा गरेसंगै सहकारी संस्थाहरुमा परेका समस्या र अवसरका वारेमा शिखर साकोसका अध्यक्ष दिपेन्द्र राउतसंग गरिएको कुराकानी–

नमस्कार , लकडाउनमा सहकारीको अवस्था के छ ?
नमस्कार , कोरोनाले पनि हामीलाई नमस्कार गर्न सिकायो । हाम्रो संस्कारलाई विश्वले अवलम्वन गरे । काठमाण्डौपछि सहकारीको योगदान पूर्वको झापा, त्यसमा पनि बिर्तामोड अग्रणी स्थानमा पर्दछ । झापा जिल्लाको सहकारीको चर्चा गर्नुपर्दा देशमा नै उत्कृष्ट सहकारी संस्थाहरु यस क्षेत्रमा रहेका छन् । वित्तीय आकारमा ठूलो र सामाजिक क्षेत्रमा पनि अग्रणी संस्थाहरु छन् ।देशमा नै नमुनायोग्य काम गरेका संस्थाहरु यसै ठाउँमा छन् ।बिर्तामोड नगरमा मात्र १३३ वटा सहकारी संस्था रहेको तथ्याङक छ ।क्षमताअनुसार सबै संस्थाले सदस्यको माझमा काम गरेका छन् । बैकको तुलनामा सदस्यहरुको पहिलो रोजाइमा सहकारी पर्ने गरेको छ । लकडाउनमा आमव्यवसायीहरुले कर्मचारी कटौती गरे भने नाफामुखी रहेका निजी क्षेत्र तलव दिन नसकेको पीडामा रहँदा सहकारी संस्थाले कर्मचारीलाई तलव दिइरहेका छन् भने लकडाउनको अवस्थामा पनि सदस्यहरुको पिरमर्कालाई बुझेर सेवामा अग्र्रणी स्थानमा रहेर सहकारीले काम गरेका छन् । सहकारी संस्था भनेको सदस्यमाझ काम गर्ने संस्था भएको हुँदा देशको प्रतिकुल अवस्था जस्तो भएपनि सामाजिक दुरी कायम गर्दै सदस्यहरुलाई सेवामा कमी गर्नु हुँदैन भनेर धेरै संस्थाहरुले सेवा प्र्रारम्भ गरे । जुन संस्थाहरु समुदायमा आधारित भएर काम गर्दछन् ती संस्थाहरुलाई लकडाउन अवसर भएको छ । सदस्यहरुलाई सामान्य अवस्थामा त जसले पनि सेवा दिन्छन् विपत्ति,अप्ठ्यारो परेको बेलामा सेवा दिने भनेकै सहकारी हो । अर्को कुरा सहकारी संस्थाले जहिल्यैै सदस्यहरुलाई भविष्यको लागि बचत गर्ने बानीको विकास गराउन लागिरहने हुँदा यो लकडाउनले कमाएर भविष्यको लागि बचत गर्नु जीवनको ठूलो कर्म हो भन्ने प्रमाणित गरिदियो । लकडाउनमा सहकारीको सेवाले गरिमा अझ बढाएको छ । ओभरअलमा हेर्दा सहकारीको अवस्था राम्र्रो रहेको छ ।
यो लकडाउनको बेलामा कसरी सेवा प्रवाह गर्नु भयो ?
चैत्र ११ बाट लकडाउन भएसंगै केही सहकारीहरुले बन्दको बेलामा पनि सेवा दिए भने केहीले सम्पर्क ब्यक्ति तोकेर सेवा दिए । शिखर साकोसले चैत्र २० बाट नै फोनबाट सम्पर्क गर्ने सदस्यहरुलाई सेवा दियो भने चैत्र २६ गतेबाट कार्यालय खोलेर हप्ताको दुई दिन सेवा दिदै आएका थियौँ ।जेष्ठ २३ गतेदेखि हप्ताको सातै दिन सेवा दिदै आएका छौ । अत्यावश्यक सामग्री खरिदमा कुनै पनि सदस्यहरुले समस्या भोग्नु नपरोस् भनेर हामी चौवीसै घण्टा जस्तो तयारीमा थियौँ । सदस्यहरुलाई कोभिड १९ बाट सचेत गराउँदै प्रविधिमा सदस्यहरुलाई जोड्दै डिजिटल प्रणालीबाट पनि संस्थाले चौवीसै घण्टा सेवा प्रवाह गरेको छ । सम्भवतः झापामा सहकारीबाट डिजिटल कारोवारमा हामी अगाडी छौ ।
लकडाउनले सहकारीको ऋण असुलीमा पारेको प्रभाव के छ?
लकडाउनले समग्र क्षेत्रलाई नै प्रभाव पारेको छ । यो प्रभावबाट सहकारी अछुतो रहन सक्ने कुरै भएन । सहकारी संस्था भनेका विपन्न र मध्यम वर्गीय आममानिसलाई सदस्य बनाई कारोवार गर्ने भएको हुँदा र जहाँ बैक पुग्न सकेका छैनन् ,त्यस ठाउँमा पुगेर सदस्यहरुलाई वित्तीय सहयोग गरिने भएको हँुदा लकडाउनले ज्यादा प्रभावित भनेकै न्यून आय भएका विपन्न र मध्यम वर्गीय आमव्यवसायी भएका हुँदा लकडाउनले त्यो समुदायलाई रोगलेभन्दा भोकले गाह्रो बनाएको थियो । दैनिक ज्यालादारी गर्ने आम सदस्यको रोजगारी गुमेको अवस्था र व्यापार व्यवसाय बन्दले गर्दा पक्कै पनि ऋण असुलीमा समस्या पर्न सक्थ्यो । तर, सहकारीले सदस्यहरुसंग निरन्तर सम्पर्क र बैकल्पिक उपायहरु अवलम्वन गर्दै सदस्यहरुको आर्थिक उन्नतिमा सहकारीले खेलेको भूमिका र सहकारी संस्था र सदस्यबीचको अपनत्वले गर्दा सदस्यहरुको जागरुकताले गर्दा ऋण असुलीमा खासै प्रभाव परेको हामीले महसुस गरेनौँ । संस्थाप्रति सदस्यहरु नै चिन्तित र चनाखो भएर होला, सदस्य स्वयम् ऋणप्रति सचेत हुनुले पनि र लकडाउनले सदस्यहरुमा परेको समस्यालाई मध्यनजर गरेर संस्थाले व्याजमा दश प्रतिशत छुट र जरिवाना,हर्जनामा सतप्रतिशत मिनाहा र भाका नाघेका ऋणलाई समय थपले गर्दा पनि सदस्यहरुले ऋण तिर्न उत्साहित हुनु भएको हामीले महसुस गर्यौँ ।सहकारी संस्थाहरुले सदस्यहरु बीचमा मात्र कारोवार गरिने भएको हुँदा संस्था र सदस्यबीचको निकट सम्बन्धले पनि ऋण असुलीमा खासै प्रभाव परेन ।
लकडाउनले सहकारी क्षेत्रलाई के सिकायो ?
सहकारी संस्थाले सदस्यहरुलाई जहिल्यैै भोलिको लागि संचित गर्न सिकाउने गर्दछ । बचत गर्ने बानीको विकास गराउने आजलाई भन्दा भोलिलाई सोचेर अगाडी बढन सिकाउनु सहकारीको मुख्य ध्येय रहेको हुन्छ । जुन कुराले गर्दा सदस्यहरुलाई भविष्यमा आईपर्ने कुनै पनि विपत्तिलाई सामना गर्न सदस्य तयार रहने हुँदा लकडाउनले पनि हामीलाई त्यहीँ सिकायो । आजको बचत भोलिको लागि भन्ने भनाइलाई यो लकडाउले सार्थक बनायो । सदस्यहरुलाई भोलिको लागि अनिवार्य बचत गर्नु पर्छ भनेर संस्थाले भनिरहँदा यो लकडाउनले अनिवार्य बचतलाई थप सिकाएको छ । कौशी खेती गर्न हामी सदस्यलाई सिकाउँथ्यौ लकडाउनमा त्यहीँ गरायो । उत्पादनमा जोड दिन हामी भन्थ्यौँ लकडाउनले उत्पादनमा सहभागी बनायो । सन्तानको लागि बचत भविष्यको लागि बचत गराईरहँदा लकडाउनले संचित नै महामारी विपत्तिको लागि आवश्यकता हो भन्ने कुरालाई पुष्टी गर्यो ।
सदस्यहरुको सेवा सुविधा र सामाजिक उत्तरदायित्वमा सहकारी संस्थाको योगदान कस्तो रहयो ?
शिखर साकोस सेवामा उत्कृष्ट सहकारी भनेर भन्ने गर्दछौ । सहकारी संस्थाहरुले बोनस भन्दा पनि सदस्यहरुलाई सेवा दिनु पर्छ भन्ने हाम्रो धारणा हो । बिर्तामोड क्षेत्रमा हामीले गरेको सेवा अरु सहकारीले पनि अनुसरण गर्ने गर्दछन् । लकडाउनको अवधिमा हामीले सदस्यहरुको पिरमर्कालाई मध्यनजर गर्दै ऋणको व्याजमा दश प्रतिशत छुटको व्यवस्था र हर्जना जरिवानामा सतप्रतिशत छुट दिएका छौ । लकडाउनले सदस्यहरुमा पर्न गएको क्षतिप्रति सदस्यहरु भोकभोकै बस्नु नपरोस् भनेर राहतस्वरुप स्थानीय सरकारसंग समन्वय गर्दै तीन लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री वितरणका लागि सहयोग गर्र्याै भने जनस्तरबाट निर्माण गर्न लागिएको कोरोना भाइरस परीक्षण प्रयोगशालाको लागि संस्थाले रु एकाउन्न हजार सहयोग गरेको छ । क्वारेन्टाईनमा बसेकाहरुलाई सदस्यहरुसंगको समन्वयमा नयाँ लुगा वितरण गरेका छौ । त्यसैगरी लकडाउन केही खुकुलो भएको अवस्थामा र व्यापार व्यवसाय खोलेर व्यवसाय संचालन गरिरहँदा सदस्यहरुलाई सचेत र सुरक्षित रहँदै व्यवसाय गर्न झापामा पहिलो पटक सचेतना कार्यक्रमको सुरुवात गरेका छौ । संस्थाले सेवा र सामाजिक उत्तरदायित्वमा महत्वपूर्ण योगदान दिने गर्दछ ।
प्रविधिमा सदस्यहरुलाई कसरी जोड्नु भएको छ ?
सहकारी संस्था भनेको आमबुझाइमा सानो र पुरानो शैलीमा संचालित वित्तीय संस्था हो भन्ने भएतापनि त्यो मानसिकतालाई शिखर साकोसले चिर्दै आएको छ । संस्थालाई प्रविधिमा अग्रणी स्थानमा स्थापित गर्दै सदस्यहरुलाई प्रविधिमा ज्ञान दिदै सदस्यहरुलाई प्रविधिमैत्री कारोवारमा संस्थाले जोड दिदै आएको छ । मोवाईल बैकिङ आजभन्दा दुई वर्ष अगाडीबाट सेवा दिदै आएको छौ । सदस्यहरुलाई तालिम र प्राविधिक शिक्षा दिदै प्रविधिमा सदस्यहरुलाई जोड्ने गरेको छ । एसएमएस सुविधा , बैंक ट्रान्सफर सुविधा र बैंकबाट सहकारी ट्रान्सफर सुविधा , वालेट लोड सुविधा र हालै मात्र नेपालमै पहिलोपटक कार्ड लेस एटिएम सुविधा केही दिनमा सुरु गर्न लागेका छौ । सहकारी संस्थाले बैंकले भन्दा बढी सेवा सुविधा दिएर गाउँबस्तीमा बस्ने सदस्यहरुलाई शिक्षित गराउँदै सेवा प्रवाह गर्दै आएका छौ । र प्रविधिमा शिक्षित बनाउँदै सेवा सुविधा उपभोग गर्न पाउँदा सदस्यहरु खुसी हुनु भएको हाम्रो बुझाइ रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्