एजेन्सी । बलिउड अभिनेत्री रेखा आफ्नै घरभित्र क्वारेन्टाइनमा बसेकी छिन् । उनका एक सुरक्षाकर्मी र दुई घरेलु कामदारमा कोभिड–१९ परीक्षण पोजेटिभ आएको छ । रेखाको हातमा होम क्वारेन्टाइनको स्ट्याम्प पनि लगाइएको छ । ६५ वर्षिया रेखालाई पनि कोरोना भाइरस परीक्षण गरिने जनाइएको छ ।

रेखा मुम्बईको बान्द्रामा रहेको सी स्प्रिङ्ग्सकी मालिक हुन् । उनको बंगलामा तीन व्यक्तिमा कोरोना संक्रमण भएको पत्ता लागेपछि बृहन्मुम्बई नगर निगम (बीएमसी) ले शनिबार यो बंगलालाई सिल गरेको हो । बीएमसीले यो परिसरलाई कन्टेन्टमेन्ट जोनको रुपमा घोषणा गर्ने एउटा बोर्ड पनि लगाएको छ । शनिबार राति बलिउडका दिग्गज कलाकार अमिताभ बच्चन, उनका छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्या बच्चनलाई कोरोना भाइरस संक्रमण देखिएको थियो । अभिषेक र अमिताभ मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन् भने ऐश्वर्या र उनकी छोरी होम क्वारेन्टाइनमा छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्