झापा , असार ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मस्थान भारतको अयोध्यामा नभई नेपालकै वीरगञ्ज पश्चिममा पर्ने भनी दिएको अभिव्यक्ति देशभित्रै विवादित बनेको छ ।

भानु जयन्तीका अवसरमा सोमबार सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले भारतले नक्कली अयोध्या खडा गरी सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका थिए। प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएलगत्तै राजनीतिकर्मी, अभियन्ता र कूटनीतिज्ञहरूले फरक–फरक धारणा राखिरहेका छन् । राजसंस्था र हिन्दु धर्मलाई राजनीतिको आधार बनाउने गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ’प्रमको स्तरबाट यस्ता उटपट्याङ,अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन। भारतसँग सम्बन्ध सुधार्ने भन्दा बिगार्नेतर्फ प्रमको ध्यान गएजस्तो लाग्छ। नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनावश्यक विवाद सिर्जना गर्नु राम्रो होइन ।’पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि ओलीमाथि सदाझैं कटाक्ष गरेका छन्।् । यसबारे उनले दुईवटा ट्वीट गर्दै पहिलो ट्वीटमा ‘आधी–कवि ओलीकृत कलीयुगीन नयाँ रामायण श्रवण गरौं! सिधै बैकुण्ठधामको यात्रा गरौं!’ भन्दै कटु व्यंग्य गरेका छन्। यस्तै, दोस्रो ट्वीटमा उनले ‘अति गरे खति हुन्छ भन्छन् ! प्रमका वचन र कर्मले सीमा नाघ्दैछन् ! संसदमा ‘सिंहमेव जयते’र बेसार–पुराणदेखि अयोध्या–पुराणसम्म आउँदा वहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न।संसद स्थगन गरेर अध्यादेश र संकटकालको‘खड्ग’समेत वहाँको हातमा छ ! अब वहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ!उपचार खोजौं!’ भनि लेखेका छन् ।
पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले धर्म राजनीति र कूटनीति भन्दा माथि रहेको यो एक उच्च भावनात्मक मुद्दा भएकाले उपहासपूर्ण बयानले अप्ठ्यारो मात्रै पार्ने उल्लेख गरेका छन्। उनले ट्वीटरमा प्रतिप्रश्न गरेका छन्, ’यदि अयोध्या वीरगन्ज नजिक छ भने, सरयू नदी कहाँ छ?’

उता प्रसिद्ध हिन्दू धर्मग्रन्थ रामायणमा वर्णित अयोध्या देश नेपालमा रहेको दाबी गरेका प्रधानमन्त्री ओलीको भारतमा पनि चर्को आलोचना गरिएको छ । मर्यादा पुरुष राम भारतका नभई नेपालका राजकुमार भएको अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओली फेरी एकपटक आलोचनाको शिकार भएका हुन्।भारतीय समाचार संस्था पीटिआईले नेपालका प्रधानमन्त्रीको अभिव्यक्ति ‘राजनीतिक विवाद उक्साउने’ र ‘भारतलाई चोट पु¥याउने आश्चर्यजनक कदम’ भनेको छ । सत्तारुढ भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले ओलीको भनाइको निन्दा गरेका छन् । अर्को भारतीय समाचार संस्था आइ.ए.एन.एस.ले लेखेको समाचारमा ओलीको भनाइलाई ‘स्तब्ध पार्ने बयान’ भनेर उल्लेख गरिएको छ । नेपाल भारत सम्बन्धमा उतारचढाव देखिएको बेला आएको अभिव्यक्तिलाई नेपालभित्र पनि जनताले विश्वास नगरेको दावी भारतीय मिडियाले गरेका छन् । एनडिटीभी डटकमले ओलीको अभिव्यक्तिले विश्वभर छरिएर रहेका रामका अनुयायीहरुलाई उत्तेजित पार्ने समाचार सम्प्रेषण गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्