सुरुङ्गा ,असार ३१ । नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका मौसम श्रेष्ठ नामुद मिटरब्याजी भएको खुलेको छ ।

उनको घरमा दर्जनौं सवारी साधन भेटिएका छन् । ती सबै सवारी साधन मिटर ब्याजमा पैसा दिएर उनले धितोमा राखेको बताइन्छ । “ सुन व्यसायको आडमा उनले मिटर ब्याजको धन्दा चलाएका हुन्” एक स्थानीयले भने,“ एक लाख दिएर एक दिनमा १५ सय रुपैयाँसम्म ब्याज लिने गरेका छन् ।” उनले त्यसरी कमाएको केही पैसा सामाजिक काममा लगाएर स्थानीय ठाउँमा आफ्नो छबि राम्रो भएको देखाउने गरेका छन् । पैसाकै आडमा उनले सामाजिक पद समेत हत्याएको स्रोतले दाबी गरेको छ । श्रेष्ठ अहिले राजनीतिक आडमा नक्कली भारतीय रुपैयाँको कारोबारको मुद्दामा पनि निर्दोष साबित हुने ध्याउन्नमा लागेको बताइन्छ । “ उनी प्रहरी हिरासतबाटै आफू निर्दोष भएको देखाउन प्रयासरत छन्” स्रोतले भन्यो,“ दर्जनौं सवारी साधन उनको घर परिसरमा छन्, तर त्यस विषयमा कसैको खासै चासो गएको देखिन्न ।” आफ्ना नजिकका शुभचिन्तक लगाएर मिटर ब्याजमा पैसा लानेलाई प्रहरीमा निवेदन नहाल्न उनले दबाब दिइरहेको बुझिएको छ । उनको घरपरिसरमा आवश्यकता भन्दा बढी सवारी साधन फेला परे पनि प्रहरीले त्यस विषयमा खासै चासो नराखेको एक स्थानीयले आरोप लगाए । नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका उनीउपर अनुसन्धान भइरहेको इलाका प्रहारी कार्यालय बिर्तामोडका डिएसपी मुकुन्द रिजालले बताए । “ श्रेष्ठ मिटर ब्याजको कारोबारी भएको कुरा सुन्नमा आएको छ ” डिएसपी रिजालले भने,“ यो विषयमा कसैको निवेदन परेको छैन, अनुसन्धान भइरहेकाले अहिले नै सबै कुरा भन्न मिल्दैन ।” सवारी साधन घर परिसरमा रहेको भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गर्ने उनले बताए । श्रेष्ठले आफूसितै पक्राउ परेका खुर्सैद आलम र एराजुल हकलाई नक्कली नोटको मुख्य कारोबारी बनाएर उम्कने बाटो खोजिरहेको बताइएको छ । “ उनी धनी व्यक्ति हुन्, आफ्नो विरुद्ध लाग्नेलाई २०– २५ लाख रुपैयाँ दिएर निर्दोष सावित बन्न पनि सक्छन् ” स्रोतले भन्यो,“ श्रेष्ठलाई सवारी साधन बुझाएकाहरुले अहिलेसम्म किटानी जाहेरी नहाल्नु पैसाकै प्रभाव हो ।” श्रेष्ठलाई अहिले सत्तापक्षीय नेताहरु भित्रिरुपमा जोगाउन लागिपरेको बताइन्छ । इतर पार्टीका नेताहरूलाई समेत श्रेष्ठले रुझाएर राखेकाले उनीविरुद्ध कोही पनि खुलेर लाग्न नसक्ने एक स्थानीयले बताए ।

कनकाई नगरपालिका–३, सुरुङ्गाका सुन व्यवसायी ४३ वर्षीय श्रेष्ठ असार २८ गते घरबाटै पक्राउ परेका थिए । उनीसँगै कनकाई ४ का २९ वर्षीय आलम र झापा गाउँपालिका ५ २४ वर्षीय हक पक्राउ परेका छन् । उनीहरुबाट १ लाख ४४ हजार नक्कली भारतीय रुपैयाँ बरामद भएको छ । बरामद नोटहरु पाँच सय दरका छन् । एक साताअघि गत बुधबार दिउँसो २ बजे खुर्सैद आलमले पाँच सयका भारतीय नोटको कारोबार गरेपछि ती नोट कहाँबाट ल्याइयो भनेर खोजी भएको थियोे । खोजीका क्रममा श्रेष्ठसँग लेनदेन गरेको र श्रेष्ठकै घरमा लुकाइ राखेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । त्यसक्रममा श्रेष्ठलाई घरमै फेला पारिएको थियो । उनको घरबाट पाँच सयका २८८ थान नक्कली भारतीय रुपैयाँ बरामद भएको थियो । घरको पहिलो तलामा श्रेष्ठ सुत्ने कोठामा टिनको दराजभित्र रबरले बाँधेको र नबाँधेको अवस्थामा ती नोट फेला परेका थिए । खोजतलास गर्ने क्रममा आलम र हकलाई सुरुङ्गा बजारमा प्रहरीले फेला पारेको थियो । उनीहरुको साथबाट एक हजारका नेपाली नोट ४ र पाँच सयका ३३ थान गरी २० हजार ५ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनैजनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ परेका तीनै जनालाई खोटाचलन सम्बन्धी कसूरमा म्याद थप गरेर बिस्तृत अनुसन्धान भइरहेको छ । उनले भने, “म्याद थप गरेर अनुसन्धान भइरहेकोे छ, अनुसन्धान टुंगिएपछि प्रहरीले यथार्थ सार्वजनिक गर्छ ।” बरामद नोटमध्ये तीनवटा नोटसम्ममा एउटै नम्बर भेटिएको छ । पक्राउ परेका व्यक्तिले बयानमा डेढ लाख नक्कली नोट रहेको खुलाएका छन् । बरामद भए बाहेकको रकम खर्च भइसकेको हुनसक्ने एक अनुसन्धान अधिकृतले बताए ।उनीहरुले ती नोट कहाँबाट ल्याएका हुन् त्यो खुलिनसकेको डिएसपी रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्