झिलझिले, साउन १ । झापाको सताक्षीधाममा पाँच वर्ष अघिमात्र स्थापना भएको गोलोक गोवर्धन गौसाला नस्ल सुधारका लागि १ नम्बर प्रदेशमा लोकप्रिय बनेको छ ।

गोलोक गोवर्धन गौशालामा गाईको नस्ल सुधार गरेर उन्नत जातका गीर, साहीबाल, हरियाणा र थारपारकर गाईका बाछाबाछी उत्पादन हुन थालेको गौशालाका संरक्षक नन्दकिशोर भारद्धाजले बताए । नस्ल सुधारका लागि गौशालाले नेपाल लगायत भारतका बिभिन्न ठाँउबाट वीउ गोरु ल्याएको थियो ।
गौसालामा उत्पादन भएका उन्नत जातका वीउ गोरु नस्ल सुधारका लागि समुहलाई पनि दिने गरेको उनले बताएका छन् । गौशालाबाट झापासहित धनकुटा, इलाम, मोरङ्ग, सुनसरी, संखुवासभा, उदयपुरका जिल्लामा स्थानीयले वीउ गोरु लगेर नस्ल सुधार गरिरहेको गौशालाले जनाएको छ । भेटेरिनरी अस्पताल, कृषक र बन लगायतका समुहले निशुल्क वीउ गोरु गौशालाबाट लैजाने गरेका छन् । यो संख्या २ सयबढी रहेको गौशालाका व्यवस्थापक लिलाशरण सुबेदीले जानकारी दिए ।
नस्ल सुधार कार्यक्रम सुरु भएपछि जुरो भएका गाईको संख्या गौसालामा बढ्दै गएको छ । गौसालामा गीर, साहीबाल, हरियाणा र थारपारकरका उत्नत जातका गोरु नस्ल सुधारका लागि राखिएका छन् । स्थानीयले नस्ल सुधारका गौसालामा गाई लगे कुनै शुल्क नलाग्ने गौशालाले बताएको छ । गौशालाको मुख्य उद्धेश्य गाईको नस्ल सुधार गर्नु पनि हो ।
गौशालाबाट सर्वसाधारण किसानले नस्ल सुधारको मात्र सुविधा पाएका छैनन् , खेत जोत्नका लागि गोरु पनि निशुुल्क पाएका छन् । आर्थिक अवस्था कमजोर भएका स्थानीयले गौशालाबाट खेत जोत्नका लागि गोरु लैजाने गरेका छन् । विपन्न परिवारलाई गौशालाले गोरु दिने गरेको छ ।
घरमा पालेको गाई बुढो भएर दुध दिन र ब्याउन छाडेको भए गौशालामा ल्याएर अर्को दुधालु गाई किसानले पाउने छन् । नेपालमा कयौ गौशाला भएपनि थारा, बुढा र रोगी गाई ल्याएर कोरली, दुधालु र उन्नत जातको गाई लैजान पाउने गोलोक गोवर्धन गौशाला नेपालमा पहिलो हो ।
स्थानीयले गौसालाबाट गाई निशुल्क ल्याएर पाल्ने गरेको बताएका छन् । शिवसताक्षी ८ का कृष्ण खरेलले गौशालाबाट बाछी ल्याएको बताए । उक्त बाछीमा उन्नत जातको वीउ गोरु लगाएर व्याएको बाछी लामो जुरो भएको र दुधालु रहेको पनि उनले बताएका छन् । उनले भने ‘दैनिक ५ लिटर दुध दिने गरेको छ ।’

गौशालाले नस्ल सुधारको मात्र कार्यक्रम ल्याएको छैन , गोबर र गोमुत्रबाट उपयोगी बस्तुको पनि उत्पादन हुन थालेको छ । बुढा र थारा गाईको संरक्षण गर्नुका साथै बेरोजगारलाई रोजगार र जैबिक कृषि एवं पर्यावरण रक्षामा गौशालाले अहम् भूमिका खेल्न थालेको स्थानीयले बताएका छन् ।
गौशालामा चारसय गाईगोरु छन् । यहाँ रहेका अधिकाँस गाई नेपालबाट भारततर्फ बिक्रीका लागि लैजान लागिएका थिए । तर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय पालिकाले भारत लैजान लागिएका गाईलाई दशजगा क्षेत्रबाट समातेर गौशालामा ल्याएर संरक्षण दिने गरेका छन् । यसैकाकारण गौशालामा गाईको संख्या बढेको हो ।
गोबर र गोमूत्रद्वारा विभिन्न किसिमका मानव स्वास्थ तथा कृषिमा उपयोगी जैविक मल एवं किट्नाशक औषधीको उत्पादन समेत गौशालामा हुने गरेको छ । उन्नत जातका जुरो भएका स्थानीय जातका गाईको गहुँत प्रशोधन गरी मानव स्वास्थ्यमा उपयोगी औषधी तथा रोग प्रतिरोधात्मक क्षमता भएको गौमूत्र अर्क समेत गौसालामा उत्पादन हुने गरेको छ । गोअर्कको व्यापार फस्टाएको बताउँछन् स्थानीय बासिन्दा । नेपालका बिभिन्न ठाउँमा सताक्षीको गोअर्क विक्री हुने गरेको छ । सर्बसाधारणले घरेलु औषधीको रुपमा गोअर्क प्रयोग गर्ने गरेका छन् ।
जानकारका अनुसार जुरो भएका र जंगल चरेका गाईको गहँुतमा रोग प्रतिरोधात्मक क्षमता हुन्छ । बजारबाट गोअर्कको माग आएकाले उत्पादन बढाउने तयारी गौशालाले गरेको व्यवस्थापक सुबेदीले बताए । उनी भन्छन ‘गौ अर्कको विक्रीबाट आएको पैसाले गौशालाको दैनिक खर्च धान्ने गरेको छ ।’

गौशालाबाट पंचगव्य घ्यू, गोमय दंत मंजन, गोबरद्वारा निर्मित धुप, हवन सामग्री समेत उत्पादन हुने गरेको छ । यहाँ उत्पादन भएका हरेक बस्तु रसायनमुक्त भएको संरक्षक नन्दकिशोरले बताए । उनका अनुसार पर्यावरणमा पवित्रता ल्याउने अगरवत्तीको धुवाँले मानव स्वास्थमा पुर्याउने हानीलाई रोक्नका लागि गोमय धुपको उत्पादन भएको हो । झापाका बिभिन्न बजारमा सताक्षीधामको गौशालाबाट उत्पादित धुपको माग बढेको छ । गोमूत्रबाट बनाएको गोनायल केमिकल मुक्त र सनातन हुंदा हरेक घरमा गोमूत्र गोनायल प्रयोग गरे घर स्वच्छ र पवित्र पनि हुने अध्यक्ष भारद्धाजले बताए । ‘यसले फिनेलको काम गर्छ,’ उनले भने । गोबरबाटै बर्मीकम्पोष्ट जिबामृत झोल, गडौले मल जस्ता जैबिक प्रांगारिक मल पनि गौशालाबाट उत्पादन हुने गरेको छ ।
किसानले बजारमा रासायनिक मल नपाएपछि गौशालाबाट सस्तो मूल्यमा जैबिक मल खरिद गर्न थालेका छन् । शिवसताक्षी ११ का किसान रामबहादुर दाहाल भन्छन, ‘एक ट्याक्टर गडौले मल ल्याएर धानबारीमा लगाएको छु । बोट सप्रिएर आएको छ । धान उत्पादन पनि सायद बढ्छ ।’ रासायनिक मल अबदेखि खेतमा नलगाउने उनले बताए । जैबिक कृषिले मानव स्वास्थ्यमा फाइदा पुर्याएकै कारण गोबरबाट उत्पादन हुने बस्तुको माग बढेको बताउँछन गौशाला संचालक ।
गोरक्षाले प्रकृति पर्यावरण जीव र वनस्पतिको रक्षा हुने र राष्ट्रिय जनावर गाईको पनि सुरक्षा हुने भएकोले गौरक्षाका लागि सताक्षीधामको गोलोक गोवर्धन गौशाला सहायक बनेको छ । पर्यावरण रक्षाका लागि पालिएका गाई बुढो भएर मरे सनातनी संस्कार गरेर समाधिस्थलमा एउटा वृक्ष रोप्ने चलन गौशालामा छ ।
मानिसको मृत्युपछि दाहसंस्कारमा समेत गाईको गोबरलाई मेसिनद्वारा निर्माण गरिएको दाउराको प्रयोग समेत बढ्न थालेको छ । गोलोक गोवर्धन गौशालामा १ सय लिटर दूध, गोमूत्र अर्क ६० लिटर, गोनायल (फिनेल) ६० लिटर,. गोमय दंतमंजन ५ किलो ग्राम,. गोमय धुप ५ किलो ग्राम दैनिक उत्पादन हुने गरेको छ ।
यस्तै पंचगव्य घ्यू १ किलो ग्राम , प्रांगारिक मल १ सय किलो ग्राम , जीवामृत झोल १ सय लिटर, गडौले मल १ सय किलो ग्राम र गोमुत्र किटनाशक ५० लिटर उत्पादन हुने गौशालाका अध्यक्ष भारद्धाजले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्