भद्रपुर, साउन १ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले हल्दिवारी गाउँपालिका क्षेत्रका अधिकांस संस्थागत विद्यालयहरूले शिक्षक तथा कर्मचारीहरूको शैक्षिक वर्ष २०७६ को काम गरिसकेको समयको तलब नदिएकोप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै गाउँ शिक्षा समितिलाई ज्ञापनपत्र बुझाएको छ ।

युनियन प्रदेश १ का अध्यक्ष यादवप्रसाद अधिकारीको नेतृत्वमा गएको टोलीले शैक्षिक वर्ष २०७६ को पौष महिनायताको शिक्षक कर्मचारीको पारिश्रमिक रोकेर विद्यालय सञ्चालकहरूले अन्याय गरेको भन्दै गाउँ शिक्षा समितिका अध्यक्ष डम्बरबहादुर गिरीलाई शिक्षक कर्मचारीको तलव अविलम्व भुक्तानी गर्ने वातावरण निर्माणको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
युनियन झापा अध्यक्ष होमराज खतिवडा तथा प्रदेश १ का सहसचिव राजु वरालले हस्ताक्षर गरेको ज्ञापनपत्रमा वर्षभरि काम गरेका शिक्षक कर्मचारीलाई संरक्षण गर्नुपर्ने दायित्व भएका विद्यालय सञ्चालकहरूले प्याब्सन, एन प्याब्सनका नाममा काम गरेको समयको पारिश्रमिक रोकेर बेतलवी विदाको हल्ला फिजाइ आतंकित पारेकाले कानुन अनुसार कारवाहीको माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै गाउँ शिक्षा समितिका अध्यक्ष गिरीले देशभरका स्थानीय तहमध्ये हल्दिबारीलाई शिक्षा क्षेत्रको नमुना गाउँपालिका बनाइएको जानकारी दिँदै सरकारले तोकेको न्यूनतम पारिश्रमिक पूर्णरूपमा लागु हुने वातावरण तयार पारेको जानकारी दिए । अध्यक्ष गिरीले शिक्षक कर्मचारीको तलव अविलम्व पाउने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाउँदै श्रमजीवि शिक्षक कर्मचारीको पक्षमा गाउँपालिका रहने प्रष्ट पारेका छन् ।