बिर्तामोड, साउन ८ । एकका लागि एक अभियानको पूर्ण सहयोगमा जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण भवनमा सञ्चालनमा आउन लागेको पिसिआर ल्याब सञ्चालन गर्न झापाका राजनीतिक दलले सरकारसँग माग गरेका छन् ।

तयारी अबस्थामा रहेका ल्याब

सरकार, सहकारी र समुदायको सहकार्यमा स्थापना गर्न लागिएको पिसिआर ल्याब यही साउन १० गतेभित्र परीक्षणका लागि तयार हुँदैछ । ल्याब प्रदेश सरकारअन्तर्गत मेची अञ्चल अस्पतालको मातहतमा रहने गरी सञ्चालन अनुमतिको पर्खाइमा छ ।
अभियानले ल्याब तयार पारिसकेपछि सरकारलाई हस्तान्तरण गर्नेछ । सञ्चालनको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिनेगरी हस्तान्तरण गर्न राजनीतिक दलका प्रमुखहरुको राय छ । अभियानले यसअघि नै ल्याब निर्माण सम्पन्न गरेर सरकारलाई जिम्मा लगाउने बताइसकेको छ ।
बिहीबार ल्याब रहेको भवनमा भएको छलफल कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, महासमिति सदस्य देउमान थेवे, जनता समाजवादी पार्टी झापाका अध्यक्षद्वय अनुतसिंह राजवंशी, दिपेन बाला राई, राप्रपा झापाका सचिव केशवराज ओझा, कनकाईका नगरप्रमुख राजेन्द्रप्रसाद पोखरेललगायतले संघीय र प्रदेश सरकारसँग ल्याब सञ्चालनको अनुमतिका लागि जोडदार माग गरेका हुन् ।
छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे, झापाका निमित्त प्रहरी प्रमुख राकेश थापा, बिर्तामोडका प्रहरी प्रमुख मुकुन्द रिजाललगायत अभियानका सदस्यहरुको उपस्थिति रहेको थियो ।
पिसिआर ल्याब साउन १० गतेभित्र तयार हुने र सञ्चालनका लागि सरकार सकारात्मक बन्नुपर्ने अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताएका छन् । ल्याब स्थापना हुने समर्पण भवनमा आवश्यक संरचना निर्माण, घेराबारा, वायरिङ, एसीलगायत उपकरण राख्ने टेबल जडान कार्य सकिएको उनले जानकारी दिए ।
ल्याबका लागि आवश्यक पिसिआर मेसिन, वायोसफ्टी क्याबिनेट, माइनस ८० डिग्रीका फ्रिज, सेन्ट्रिफुगल, आवश्यक किट तथा अन्य सामग्री समर्पण भवनमा आइसकेको सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । पिपिइलगायत थप किट प्रदेश सरकारले परीक्षण सुरु भएपछि व्यवस्थापन गर्ने बताइएको छ ।
ल्याब स्थापनाका लागि अन्तर्राष्ट्रिय झापाली समाज र झापा जिल्ला सहकारी संघको समन्वयमा २५–२५ लाख हजार रुपैयाँ प्रदान गरेका छन् भने विभिन्न वित्तीय संस्था तथा व्यक्तिगत र संस्थागत रुपमा सामाजिक संघसंस्थाले रकम सहयोग गरिरहेका छन् । ल्याब स्थापनाका लागि अभियानले १ करोड २० लाख रुपैयाँ संकलन गरिसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्