कनकाई, साउन ९ । झापाबाट प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद, पूर्व मन्त्री र संविधानसभा सदस्यहरुले जनस्तरबाट कनकाईको कोटीहोममा संचालन हुन लागेको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर प्रयोगशालाका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

कोटीहोमको समर्पण भवनमा संचालन हुन लागेको पीसीआर ल्याबको आज निरीक्षण गर्दै उनीहरुले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सरकारलाई सहयोग पुर्याउन नागरिकस्तरबाट पीसीआर प्रयोगशाला स्थापना गरी सरकारलाई हस्तान्तरण गर्न लागिएको एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए । मेची अस्पतालको मातहतमा रहने गरी उक्त पीसीआर परीक्षण प्रयोगशाला सञ्चालन हुने उनले जानकारी दिए ।
सांसद, पूर्व मन्त्री लगायत सबैले जतिसक्दो छिटो पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनको वातावरण मिलाउन सरकारको ध्यानाकर्षण गराउँदै नागरिकस्तरबाट भएको कामको प्रशंसा गरेका थिए ।प्रतिनिधिसभा सदस्य, राजेन्द्र लिङ्देन, पूर्व मन्त्रीहरु केशवकुमार बुढाथोकी, सरिता प्रसाईं, वीरमणि ढकाल, संविधानसभा सदस्यहरु प्रेम गिरी, सुधिरकुमार शिवाकोटी, मनकुमार गौतम, दीपक कार्की, हरि राजवंशीले पीसीआर परीक्षण प्रयोगशालाको निरीक्षणपछि एकका लागि एक अभियानका अभियानकर्मीलाई धन्यवाद दिँदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । त्यस्तै प्रदेशसभा सदस्यहरु ओम सरावगी, श्रीप्रसाद मैनाली, गोपाल बुढाथोकी, एकराज कार्की, बृख प्रधान, पूर्णसिंह राजवंशी, झलकसिंह दर्लामी, पूर्व सांसद डिल्ली सिटौलासमेतले पीसीआर परीक्षण प्रयोगशालाको निरीक्षणपछि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।नेकपा झापाका अध्यक्ष चिन्तक पाठकले नागरिकस्तरबाट भएको कामको सराहना गर्दै जतिसक्दो छिटो पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनको वातावरण बनाउन लागीपर्ने प्रतिबद्धता जनाए । अभियानको साझेदार संस्था अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नवीन पोखरेलले अन्तर्राष्ट्रिय झापाली समाजका तर्फबाट दुई दिनभित्र २५ लाख रुपैयाँ हस्तान्तरण गर्ने बताए ।पीसीआर परीक्षण प्रयोगशालाको प्राविधिक पक्षबारे अन्नपूर्ण न्यूरो हस्पिटल, अन्नपूर्ण रिसर्च सेन्टरका अनुसन्धान अधिकृत अनिल साहको टिमले जानकारी गराएको थियो भने पीसीआर परीक्षण प्रयोगशालाको मेसिन लगायतका सामग्री खरिद प्रक्रियाबारे एकका लागि एक अभियानका सदस्य सजेश शिवाकोटीले अवगत गराएका थिए । संवाद समूहले संयोजन गरेको छलफलमा एकका लागि एक अभियानका संयोजक गिरी र सहसंयोजक बिनोद बस्नेतले अभियानकाबारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्