इन्द्रसिंह राजवंशी,

बिर्तामोड, साउन १० । बिर्तामोड ३ सैनिकमोडमा जंगली जनावर अर्नाले हानेर तीन जनालाई मारेको पाँच वर्ष भइसक्यो । यति समय बितिसक्दा न मृतक परिवारले क्षतिपूर्ति पाएका छन् न घाइतेले उपचार खर्च नै ।

मृतक केरकेरु र ललिता

२०७२ जेठ ३२ गते एकाविहानै आएको अर्नाले आक्रमण गर्दा १८ वर्षिय मंगल हस्दा, ५८ वर्षिय केरकेरु राजवंशी र ७० वर्षिया ललिता राजवंशीको मृत्यु भएको थियो । मंगलको घटनास्थलमै ज्यान गएको थियो भने घाइते केरकेरुको उपचारका क्रममा १८ दिनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो । त्यस्तै बृद्धा ललिताको एक वर्षपछि मृत्यु भयो । अर्नाको आक्रमणबाट ललिताकी छोरी ४० वर्षिया पूर्णिमा घाइते भएकी थिइन् । तीन जनाको मृत्यु र एकजना घाइते हुँदा समेत अझै उनीहरुले राहत नपाएका हुन् । क्षतिपूर्तिका लागि आफ्नो तर्फबाट सक्दो पहल गरेपनि सुनुवाई नभएको मृतक ललिताका नाति अर्जुन राजवंशीले बताए । पत्रकार रहेका राजवंशीले क्षतिपूर्तिको लागि आबश्यक कागजपत्र सर्जमिन मुचुल्का, प्रहरी रिपोर्ट , नगरपालिका र वन कार्यालयको सिफारिस, अस्पतालको विल भौचरजस्ता प्रक्रिया पुरा गरेर पठाउँदा पनि मन्त्रालयले क्षतिपूर्ति रकम निकासा नगरेको गुनासो गरे । ‘सबै प्रक्रिया पुरा गरेर उहिले फाइल पठाएका हौं’ उनले भने,‘वन मन्त्रालयमा पुगेर फाइल रोकियो ।’ मृतक र घाइतेका चारैवटा परिवार अतिविपन्न हुन् । जनमजदुरी गरी गुजारा गर्ने परिवारले आफ्ना सदस्यको मृत्यु हुँदा किरिया खर्च समेत पाएनन् । उपचार गर्दा लागेको खर्च अस्पतालमा तिर्न सकेका छ्रैनन् । ‘घाइतेहरुलाई उपचार गराएवापत् वीएण्डसी हस्पिटलमा तिर्न निकै बाँकी छ ’ अर्जुनले भने,‘ राहत पाएपछि तिर्ने भनेर थमाएर राखेका छौं ।’ उनले राहतका लागि कतैबाट पहल नभएको गुनासो गरे ।

घाइते पूर्णिमा

अर्नाको आक्रमणबाट घाइते बनेकी पूर्णिमा पूर्णरुपमा निको हुन सकिनन् । उनी राम्ररी हिडडुल गर्न सक्दिनन् । श्रीमान् नभएकी पूर्णिमाले सामान्य व्यवसाय गरेर गुजारा गर्दै आएकी थिइन् । घाइते भएयता उनलाई जीवनयापनमा समस्या छ । घटना सम्बन्धमा प्रहरीले सर्जमिन मुचुल्का तयार गरेपछि बिर्तामोड नगरपालिकाले २०७२ पुष १३ गते क्षतिपूर्तिका लागि तत्कालिन जिल्ला वन कार्यालय झापालाई सिफारिस गरेको थियो । वन कार्यालयले २०७२ पुष २२ गते वन विभाग बबरमहललाई सम्पूर्ण कागजातसहित पत्र पठाएको थियो । त्यस्तै पूर्वाञ्चल क्षेत्रीय वन निर्देशनालयले २०७२ भदौ ८ गते वन तथा भुसंरक्षण मन्त्रालयमा सिफारिस पत्र पठाएको थियो । सोही पत्रका कारण आफूहरुले राहत नपाएको अर्जुनको ठम्याइ छ । पत्रमा अर्नाजस्तो देखिने गौरीगाईले आक्रमण गरेको उल्लेख छ । क्षेत्रीय निर्देशक प्रकाशनाथ प्याकुरेलले त्यस पत्रमा वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ को सि. नं.३(६) १ मा हात्ती, गैंडा, बाघ, भालु, चितुवा, हिउँचितुवा,जंगली बदेल, अर्नाबाट क्षति भए मात्र राहत दिन मिल्ने व्यहोरासहितको सिफारिस उल्लेख गरी मन्त्रालयमा पठाएका थिए । घटना भएको बेला उल्लेखित जंगली जनावरको आक्रमणबाट मृत्यु भएमा ३ लाख रुपैयाँ क्षतिपूर्ति पाउने व्यवस्था थियो । हाल सो रकमलाई बढाएर सरकारले १० लाख रुपैयाँ पुर्याएको छ ।

वन कार्यालयको सिफारिस पत्र

निर्देशिकाबमोजिम क्षतिपूर्ति नपाएका पीडितहरुले मानवीय सहयोग समेत पाउन सकेका छैनन् । डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले त्यस घटनाका बारेमा आफूलाई जानकारी नभएको बताए । उनले पीडितले अहिलेसम्म कुनै पनि क्षतिपूर्ति नपाउनु दुखलाग्दो लागेको बताउँदै क्षतिपूर्तिका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् । तीन जनाको ज्यान लिएर एक जनालाई घाइते बनाएको त्यस अर्नालाई प्रहरीले गोली हानेर मारेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्