बिर्तामोड, साउन १० । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना गर्न एकका लागि एक अभियानलाई कसैले अवरोध पुर्याउन नसक्ने बताएका छन् ।

शुक्रबार साँझ अन्तर्राष्ट्रिय झापाली समाजले आयोजना गरेको भच्र्युअल बैठकमा मन्त्री कार्कीले कहीँकतैबाट अवरोध आए त्यसलाई हटाउन आफू प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । अभियानले कनकाईको कोटिहोमस्थित समर्पण भवनमा ल्याब स्थापना गरेर सरकारलाई हस्तान्तरण गर्ने यसअघि नै बताएको छ ।
तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइको नाममा झापामा मेची अस्पताललाई मात्र ल्याब सञ्चालनको स्वीकृति दिने पत्र आएको थियो । मन्त्री कार्कीले ल्याबको संख्या बढाउनुपर्नेमा स्थापना भइसकेको ल्याब चल्न नदिने कुरा आउनु गलत भएको बताए ।
‘यो ल्याब कुनै हालतमा रोकिनु हुँदैन’, मन्त्री कार्कीले भने, ‘संघीय सरकारले त्यस्तो निर्णय गर्नु गलत हो, यो सच्याउनुपर्छ ।’ प्रदेश १ मा कम्तिमा पाँचवटा ल्याब हुनुपर्नेमा हाल तीनवटा मात्र रहेको र स्थापना भइसकेको ल्याब तुरुन्त सञ्चालनमा ल्याइनुपर्ने कार्कीको धारणा छ ।
बैठकमा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले मेची अस्पतालबाहेक अन्यत्र ल्याबको आवश्यकता नरहेको बताएपछि मन्त्री कार्कीले प्रदेशमा ल्याब पर्याप्त नरहेको र बढीभन्दा बढी ल्याब सञ्चालनमा ल्याइने बताए । मन्त्री कार्कीले भने, ‘यो पवित्र अभियानलाई कसैले मनोबल कमजोर पार्ने गर्नु हुँदैन । तपाईंहरु (एकका लागि एक) अघि बढ्नुहोस्, कहाँ के मिल्दैन म कुरा गर्छु ।’
मन्त्री कार्कीले सरकारले निजी क्षेत्रलाई पनि न्यूनतम शुल्क लिएर ल्याब सञ्चालनको अधिकार दिइसकेकाले सञ्चालनमा अवरोध आउन नसक्ने प्रस्ट पारे । मेची अस्पतालको मातहतमा ल्याब सञ्चालन हुन नसके एकका लागि एक अभियानलाई कानुन संशोधन गरेर भए पनि अनुमति दिनुपर्ने उनको भनाइ छ ।
अभियान सुरु हुनुभन्दा अगाडि आफूसँग पटकपटक छलफल भएको कार्कीले बताएका थिए । ल्याबका विषयमा पनि आफू र सामाजिक विकास मन्त्रालयलाई अगाडि नै जानकारी गराइएको र कोटिहोम क्षेत्र भौगोलिक तथा अन्य हिसाबले पनि उपयुक्त स्थान रहेको उनको भनाइ छ । बैठकमा पार्तेलले भने अभियानले स्थापना गर्ने ल्याबका बारेमा आफूलाई थाहा नै नभएको बताएका थिए ।
समाजका अध्यक्ष छत्र सुब्बाको अध्यक्षतामा भएको बैठकमा संघीय सांसद एलपी साँवा, राजेन्द्र लिङदेन, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालगायत झापाली राजनीतिज्ञ सहभागी थिए । उनीहरुले कोटिहोममा पिसिआर ल्याब स्थापना भइसकेको र यथासक्य चाँडो सञ्चालनमा ल्याउन सरकार लाग्नुपर्ने धारणा राखेका थिए ।
बैठकमा अभियानका संयोजक महेन्द्रकमार गिरीले समुदाय, सहकारी र सरकारको सहकार्यमा ल्याब सञ्चालनमा आउने स्पष्ट पारेका थिए । हालसम्म एक करोड ६८ लाख रुपैयाँ संकलन भइसकेको र ४७ लाख रुपैयाँ खाद्यान्न, भिटिएम, आरडिटीलगायतमा खर्च भएको गिरीले बताएका थिए ।
त्यस्तै, बैठकमा समाजका संरक्षक तथा निवर्तमान अध्यक्ष दिनेश पोखरेलले केही भ्रामक समाचारका कारण अन्योलता सिर्जना भए पनि यथार्थ त्यस्तो नरहेको प्रस्ट पारेका थिए । उनले अभियानका नेतृत्व र सदस्यहरु चिनिएका सामाजिक व्यक्तित्व भएकाले नडगमगाई काम गर्न अनुरोध गरेका थिए ।
समाजका उपाध्यक्ष दिपक ओलीले सहजीकरण गरेको बैठकमा समाजका पदाधिकारी तथा सदस्यहरु, संरक्षक तथा सल्लाहकारहरु, राष्ट्रिय समितिका सदस्यहरु, अभियानका सदस्यहरु तथा पत्रकारको सहभागिता रहेको थियो ।
यसैबीच, समाजका तर्फबाट पिसिआर ल्याब खरिदका लागि रकम संकलन संयोजक तथा वरिष्ठ उपाध्यक्ष दिपक खनालले साउन १२ गते बिर्तामोडमा एक कार्यक्रमका बीच अभियानलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरिने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्