माल्टा ,साउन ११ । वैदेशिक रोजगारीको लागि युरोपको एक टापु देश माल्टामा पुगेका झापालीहरु संगठित भएका छन् । झापा र झापालीहरुको सामाजिक, शैक्षिक, भौतिक विकासमा योगदान गर्ने उद्धेश्य लिएर झापाली समाज माल्टा गठन भएको नवगठित समाजका संयोजक शर्मिला बस्नेतले बताइन् । गत २१ जुलाईका दिन सामाजिक संजाल जुममा भएको भर्चुअल बैठकले १५ सदस्यीय समिति गठन गरेको बैठकमा प्रमुख अतिथिको रुपमा सहभागी अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बाले हङकङबाट जानकारी दिएका छन् । बैठकमा विशिष्ट अतिथिका रूपमा राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन पनि सहभागी भएर नवगठित समितिलाई बधाई साथै कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

अन्तर्राष्ट्रिय झापाली समाजका पदाधिकारीहरुको समेत सहभागितामा सम्पन्न बैठकले नवगठित समितिलाई अन्तर्राष्ट्रिय झापाली समाजले अभिभावकत्व दिलाएर झापा र झापालीहरुको सेवामा सँगसँगै सहकार्य गरिने अन्तर्राष्ट्रिय झापाली समाजका संरक्षक दिनेश पोखरेलले बताए । माल्टामा कार्यरत झापालीहरुलाई एकता, सहयोग र सहकार्यको मुलमन्त्रमा आबद्ध गराएर त्यहाँका नेपालीहरुको सुखदुःखमा साथ दिने समितिको मुख्य उद्धेश्य रहेकोे बताउँदै संयोजक बस्नेतले आफ्नो क्षमताले भ्याएसम्म सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएकी छन् ।
१५ सदस्यीय समिति गठन

झापाली समाज माल्टाको नवगठित तदर्थ समितिको संयोजकमा शर्मिला बस्नेत सर्वसम्मत चयन भएकी हुन् । सुरुङ्गा स्थायी घर भएकी बस्नेत सामाजिक सेवाभाव भएकी प्रष्टवक्ता, सहयोगी महिलाको रुपमा परिचित छिन् । केही सामाजिक र वित्तीय संस्थामा काम गरिरहेकी बस्नेतको संयोजकत्वमा बनेको झापाली समाज माल्टाको उपसंयोजकमा लोकराज पौडेल चयन भएका छन् भने अन्य १३ जना सदस्यहरुमा उमेश गिरी, प्रविन थापा, द्रोणकुमार घिमिरे, मुक्ति पुरी, सुष्मा कार्की, नरेश चापागाईं, रोशन आचार्य, पार्वता उप्रेती, निशा सुवेदी, मनोज बस्नेत, पिंकुर तामाङ, नवीन भट्टराई र योगेश खडका रहेका छन् । यो समितिले निकट भविस्यमा माल्टामा झापालीहरुको एक बृहत भेला आयोजना गरी समितिलाई पूर्णता दिने बताइएको छ । बैठकले माल्टामा लामो समयदेखि रहेका तीन जना समाजसेवीहरुको एक सल्लाहकार समिति गठन गरेको छ । समितिको वरिष्ठ सल्लाहकारमा तेजबहादुर लिम्बू र अन्य दुई जना सल्लाहकारमा नवीन गिरी र राजीव दाहाल रहेका छन् । उक्त समितिलाई अन्तर्राष्ट्रिय झापाली समाजले लिखित रूपमा शुभकामना दिदै नयाँ सदस्य राष्ट्रका रुपमा मान्यता दिएको महासचिव खेमराज जमरकट्टेलले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्