गौरीगंज, साउन ११ । गौरीगंज गाउँपालिकाले आर्थिक वर्ष २०७७– ७८ को लागि बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी ३ करोड ७९लाख ३६ हजार ८ सय ८० रुपैयाँको घाटा बजेट प्रस्तुत गरेको हो ।
गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गाउँपालिकाको आर्थिक वर्ष २०७७–७८ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । आर्थिक वर्ष२०७७ –७८ का लागि गाउँपालिकाको अनुमानित आय ४२ करोड ७२ लाख १३ हजार १ सय २० रुपैयाँ रहेको छ भने अनुमानित व्यय ४६ करोड ५१ हजार ५० लाख रुपैयाँ रहेको छ । संघिय सरकारबाट प्राप्त हुने अनुदान गत आर्थिक वर्षभन्दा ४ करोड ५० लाख रुपैयाँ कम र कोरोना महामारीका कारण १ करोड ७ लाख ४३ हजार ८ सय पचास रुपैयाँ खर्च भएकोले घाटा बजेट प्रस्तुत गर्न बाध्य भएको बताइएको छ । वजेट सार्वजनिक कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापा र प्रमुख प्रशासकीय अधिकृत प्रविण दाहाल, अधिकृत विरेन्द्र खडका, नारायणप्रसाद चँदरासमेत उपस्थित थिए ।
गाउँपालिकाले आर्थिक विकास अन्तर्गत कृषि विकास कार्यक्रममा ७५ लाख, पशु विकासमा ३५ लाख, पर्यटन विकासमा २५ लाख, सहकारी तथा वित्तीय क्षेत्रमा ५ लाख रुपैयाँ विनियोजन गरेको छ भने शिक्षामा १ करोड, युवा तथा खेलकुदमा २० लाख, स्वास्थ्यमा ७५ लाख, खानेपानी संरचना निर्माणमा १५ लाख, सरसफाईमा १० लाख, संस्कृति प्रबद्र्वनमा २५ लाख रुपैयाँ छुट्याइएको छ ।
त्यसैगरी लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्यक्रमअन्तर्गत महिला विकासमा १० लाख, बालबालिका शीर्षकमा ५ लाख, जेष्ठ नागरिकमा ४ लाख रुपैयाँ, अपांगता ३ लाख, दलित शिर्षकमा ३ लाख, आदिवासी जनजाति शिर्षकमा ५ लाख, मधेशी मुस्लिम पिछडा वर्ग शिर्षकमा ३ लाख, शिशु तथा सुत्केरी स्याहार कार्यक्रममा ७ लाख ५० हजार छुट्याइएको छ । पूर्वाधार विकास अन्तर्गत सिंचाई संरचना निर्माणमा १० लाख, सडक तथा पुल पुलेसा झोलुङ्गे पुल २ लाख ७० हजार, भवन निर्माणमा १ करोड रुपैयाँ, सहरी विकास (बजार निर्माण) ६० लाख, विपन्न आवासमा ७५ लाख, विद्युत विस्तारमा २५ लाख, नविकरणीय उर्जामा १५ लाख रुपैयाँ छुट्याइएको पत्रकार सम्मेलनमा जनाइएको छ । वन वातावरण तथा विपद व्यवस्थापनमा ९१ लाख, सुशासन तथा संस्थागत विकास शिर्षकमा भने १० लाख रुपैयाँ रहेको छ ।गौरीगंज गाउँपालिकामा रहेको ६ वटा वडाहरुलाई आर्थिक वर्ष २०७७÷७८ का लागि वडास्तरीय बजेट विनियोजन गरिएको छ ।
यसैबीच गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि १ करोड ७ लाख ४३ हजार रुपैयाँ खर्च भएको सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्