हल्दिबारी ,साउन १२ । हल्दिबारी गाउँपालिकाका २३ जना जनप्रतिनिधिहरुले गाउँसभाको दोस्रो बैठक बोलाउन माग गरेका छन् ।
आज गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनलाई लिखित निवेदन बुझाउँदै २३ जना जनप्रतिनिधिहरुले सातौं गाउँसभाको दोस्रो बैठक बोलाउन माग गरेका हुन् । गाउँपालिकामा २९ जना जनप्रतिनिधि रहेका छन् । गाउँपालिकामा बहुमत रहेको नेपाल कम्युनिष्ट पार्टी हल्दिवारीको साउन ९ गते बसेको बिस्तारित सचिवालयको बैठकले गाउँसभाको दोस्रो बैठक बोलाउन निर्देशन दिएको थियो । गाउँपालिकाका अध्यक्ष अभिभावक भएकाले आमसर्वसाधारणमा पर्न गएको असरलाई मध्यनजर गर्दै सृजित समस्याबाट नभागी आपसी समझदारीमा तत्काल समस्याको समाधानका लागि पहल गर्न हुन अनुरोध गरिएको वडा नं १ का वडाध्यक्ष त्रिलोचन सापकोटाले बताए । गत असार १० गते सातौं गाउँसभा उद्घाटनका क्रममा अध्यक्ष लिङ्देन र उपाध्यक्ष डम्बर गिरीबीच विवाद भएको थियो । लिङ्देनले गाउँसभा बहिष्कार गरेपछि गिरीले अध्यक्षको अनुपस्थितिमा बजेट, नीति तथा कार्यक्रम पारित गराएका थिए । त्यसयता दुवैबीच घमासान टक्कर परेको थियो । अन्ततः दुवै पक्ष मिलेर अघि बढ्ने मनस्थितिमा देखिएका छन् ।