राजगढ, साउन १३ । स्थानीय समुदायमा कोरोना संक्रमण फैलिएपछि बाह्रदशी गाउँपालिकामा कन्ट्याक्ट ट्रेसिङलाई तिब्रता दिइने भएको छ ।

सिलपछि सुनसान राजगढ बजार—तस्वीर लक्ष्मी निरौला अधिकारी

गाउँपालिकाको संभावित संक्रमित क्षेत्रलाई सिल गरी आजदेखि कन्ट्याक्ट ट्रेसिङ गरिने भएको हो । समुदायमा कोरोना संक्रमण फैलिसकेकाले अत्यन्त सजग हुनु पर्ने अबस्था आएको बताउँदै जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले बाह्रदशीका संक्रमितहरुको ‘डिटेल हिष्ट्री’ खोजिरहेको जानकारी दिए । ‘ त्यस जानकारीका आधारमा संक्रमितको सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गर्छौ’ उनले भने । विराटनगरको ल्याब खाली नभएका कारण तत्काल स्वाब संकलन गरी पठाउन समस्या भइरहेको चौलागाईले बताए । मेची अस्पतालमा भोलिदेखि पिसिआर ल्याब संचालन हुने जनाइएको छ । मेची अस्पतालमा ल्याब संचालन भएपछि कोरोना परीक्षणका लागि निकै सहज हुने उनले बताए । समुदायमा संक्रमण देखा परेपछि बाह्रदशी गाउँपालिकाले सूचना जारी गरी गएराति १२ बजेदेखि बाह्रदशी गाउँपालिकाको वडा नं १ ,२ र ३ अनिश्चित समयका लागि सिल गरेको हो । अर्को सूचना जारी नभएसम्मका लागि संक्रमित क्षेत्रभित्रका तीनवटा वडा सिल गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए । जिल्लामा पहिलो पटक बाह्रदशीमा सुरक्षाकर्मीबाहेक समुदायका ब्यक्तिमा कोरोना सरेको पाइएको हो । बाह्रदशी गाउँपालिकाका दुईजनामा हिजो संक्रमण पुष्टि भएको थियो । संक्रमित हुनेहरुमा एकजना राजनीतिक कार्यकर्ता र अर्का स्वास्थ्यकर्मी रहेका छन् । बाह्रदशी २ मा निजी क्लिनिक संचालन गरेका स्वास्थ्यकर्मी र वडा नं ३ का नेकपाका एक कार्यकर्तालाई संक्रमण देखिएको गाउँपालिका कार्यालयले जनाएको छ ।चार दिन अघि क्वारेन्टाइनमा बसेका ब्यक्ति , जनप्रतिनिधि , स्वास्थ्यकर्मी र राजनीतिक कार्यकर्ता गरी २६ जनाको स्वाब संकलन गरी पठाइएको थियो । त्यसमध्ये समुदायका ती दुई जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुलाई कहाँबाट र कसरी कोरोना सर्यो भन्ने थाहा हुन नसकेको अध्यक्ष राजवंशीले बताए ।‘बाहिर बढी हिड्ने भएकाले चार दिनअघि मैले उहाँहरुलाई बोलाएर स्वाब संकलन गर्न लगाएको थिएँ ’ उनले भने ,‘ कसरी सर्यो खोज्नै पर्छ ।’ संक्रमितहरुलाई धरान पठाइएको छ । योसँगै बाह्रदशीमा कोरोना संक्रमितको सँख्या १४ पुगेको छ ।यसअघि पनि बाह्रदशी गाउँपालिका ८ दिन सिल गरिएको थियो । जिल्लाका दोस्रो कोरोना संक्रमित बाह्रदशी ४ मा देखा परेपछि गत बैशाख १४ देखि २२ गतेसम्म बाह्रदशीका तीनवटा वडा सिल गरिएको थियो

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्