झापा, साउन १४ ।वन्यजन्तुसम्बन्धी घटनामा परी झापामा एक वर्षको अवधिमा ६ जनाले ज्यान गुमाएका छन् ।

वन्यजन्तुको आक्रमणमा परी तीनजनाको मृत्यु भएको हो भने आफैले थापेको पासोमा परी तीन जनाले ज्यान गुमाएका छन् । वन्यजन्तुको आक्रमणमा परी तीन जनाले ज्यान गुमाएपनि एकजनाले मात्र क्षतिपूर्ति पाएका छन् । गौरीगञ्ज गाउँपालिकामा हात्तीको आक्रमणमा परी मारिने ब्यक्तिका परिवारले मात्र १० लाख रुपैयाँ क्षतिपूर्ति पाएका हुन् । कचनकवलमा हात्तीको आक्रमणबाट मारिने कैयाराम राय क्षेत्री र बृखबहादुर राईले क्षतिपूर्ति पाएनन् । क्षेत्रीको परिवारका कुनै पनि सदस्यले क्षतिपूर्ति दावी गरेनन् भने राईलाई वन निर्देशिकाले दिन नमिल्ने देखियो । ‘क्षेत्रीको परिवारमा कोही रहेनछ’ डिभिजन वन कार्यालय कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले भने,‘ त्यस्तै बीच जंगलमा मारिएकाले राईले क्षतिपूर्ति नपाउने भएका हुन् ।’ त्यस्तै हात्तीबाट बालीनाली जोगाउन बनाइएको विद्युतीय वेरामा परी मेचीनगरमा तीन जनाको मृत्यु भएको छ । एक वर्षमा जिल्लामा ४९२ वटा वन्यजन्तुसम्बन्धी घटना भएका थिए । त्यस घटनामा परेका पीडितहरुलाई ६२ लाख १२ हजार ३९५ रुपैयाँ राहत उपलब्ध गराइएको डिभिजन प्रमुख घिमिरेले बताए ।राहत पाउनेमा एकजना मृतक, दुईजना सख्त घाइते, अन्य सामान्य घाइते रहेका छन् । त्यस्तै वन्यजन्तुको आक्रमणबाट घरगोठ क्षति भएकाहरुले पनि राहत पाएका छन् । त्यसैगरी आर्थिक वर्ष २०७६—०७७ मा १५२ जनालाई सहुलियत काठ उपलब्ध गराइएको वन कार्यालयले जनाएको छ ।जिल्ला वन पैदावर आपूर्ति समितिको सिफारिसमा सहुलियत काठ उपलब्ध गराइएको घिमिरेले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्