बिर्तामोड ,साउन २० । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले कोरोना महामारीको कारणले उत्पन्न असहज परिस्थितिबाट वित्तीय क्षेत्रमा परेको प्रभावलाई मध्यनजर गरी ग्राहकहरुको आवश्यकता परिपूर्तिका लागि सहुलियतपूर्ण र सहज तरिकाले सरल प्रक्रियाबाट छोटो समयमा कर्जा उपलव्धता हुने गरी ५ प्रकारका नयाँ कर्जा योजनाहरु सार्वजनिक गरेको छ ।
एक्सलले घरायसी प्रयोजनका सामग्री कर्जा,शिक्षा कर्जा ,पेशागत कर्जा, साना तथा मझौला उद्यम कर्जा , सवारी साधन कर्जा योजना सार्वजनिक गरेको हो ।
घरायसी प्रयोजनका सामग्री कर्जाअन्तर्गत कोरोनाका कारण शैक्षिक संस्थाहरु बन्द रहेको र विद्यार्थीहरुको सिकाइको निरन्तरताका लागि अनलाइन माध्यमवाट शैक्षिक क्रियाकलापहरुलाई वढाइएको परिस्थितिमा कम्प्युटर, ल्यापटप, मोवाइलहरुको वढदो माग तथा सार्वजनिक यातायातको प्रयोग गरी यात्रा गर्दा कोराना भाइरस सर्न सक्ने सम्भावना वढी भएका कारण आवतजावतको सहजता र सम्भावित रोगवाट बच्न आफ्नो सवारी साधन स्कुटर, मोटरसाईकललगायतका दुई चक्का भएको सवारी साधनको वढ्दो मागलाई मध्यनजर गरी सो कर्जा योजना ल्याइएको हो । सहुलियतपूर्ण र सहज तरिकाले छोटो समयमा कर्जा उपलव्धता हुने गरी नियमित आम्दानीका स्रोत भएका न्यूनतम २२ वर्ष उमेर पुगेका नेपाली नागरिकहरुलाई उनीहरुको उमेर, बसोबास स्तर, मासिक आय, बैकल्पिक आयस्रोत, पेशा व्यवसाय, कर्जा उपभोगको स्तर लगायतका सूचकांकहरुको रेटिङका आधारमा व्यक्तिगत जमानतमा न्यूनतम २५ हजारदेखि अधिकतम रु १ लाख ५० हजारसम्म उपलव्ध हुनेगरि कन्ज्यूमर प्रोडक्टहरुमा १ वर्ष अवधिको मासिक समदर किस्ता र दुई चक्के सवारी साधनमा २ वर्ष अवधिको मासिक समदर किस्तामा कर्जा भुक्तानी गर्न सकिने नयाँ कर्जा योजना ल्याईएको हो ।त्यस्तै शिक्षा कर्जाअन्तर्गत १८ देखि ४० वर्ष उमेर समुहका नेपाली नागरिकहरुलाई स्नातक, स्नातकोत्तर वा सोभन्दा माथिको तहमा अध्ययनका लागि लाग्ने प्रवेश शुल्क, मासिक शुल्क, परीक्षा शुल्क, वीमा शुल्क, यातायात तथा आवास खर्च आदि लागतको भुक्तानी तालिकाको आधारमा फेज वाइज कर्जा उपलव्ध गराउने गरी घरजग्गा तथा मुद्दति रसिद धितो सुरक्षणमा नेपाल तथा सार्क राष्ट्रहरुमा अध्ययनका लािग अधिकतम रु ३० लाखसम्म र अन्य देशहरुमा अध्ययनका लागि अधिकतम रु ५० लाखसम्म उपलव्ध गराइने भएको छ । उक्त कर्जा अधिकतम १६ वर्ष अवधिमध्ये अध्ययन अवधि अधिकतम ६ वर्ष ग्रेस अवधि रहनेगरि मासिक समदर किस्ता भुक्तानी गर्न सकिने छ ।त्यस्तै पेसागत कजाअन्तर्गत २५ देखि ५८ वर्ष उमेर समुहका विभिन्न पेशा व्यवसायमा संलग्न नेपाली नागरिक तथा ६५ वर्षसम्म उमेर भएका ख्यातिप्राप्त विदेशी गैरसरकारी संस्था, राजदुतावासमा कार्यरत तथा आफ्नै पेशा व्यवसाय भएका डाक्टर, इन्जिनियर, लेखापरीक्षकहरुलाई उनीहरुको व्यक्तिगत आवश्यकता परिपूर्तिका लागि व्यक्तिगत जमानतमा न्यूनतम १ लाखदेखि अधिकतम १५ लाखसम्म (अधिकतम रु ५ लाखसम्म रिभल्विंग सुविधा भएको) अधिकतम ५ वर्ष अवधिको मासिक समदर किस्तामा भुक्तानी गर्न सकिने (रिभल्विंग कर्जाको मासिक व्याज मात्र भुक्तानी) कर्जा योजना ल्याईएको जनाइएको छ ।त्यस्तै साना तथा मझौला उद्यम कजाअन्तर्गत नेपाल सरकारका विभिन्न निकायहरुमा दर्ता भएका एकलौटी फर्म, साझेदार फर्म, प्रा.लि., कम्पनीहरुलाई साविकको तथा नयाँ व्यवसाय संचालनका लागि आवश्यक चालु पूँजी तथा स्थायी प्रकृतिको खर्च व्यवस्थापनका लागि कोषमा आधारित रिभल्विंग तथा आवधिक कर्जा (घरजग्गा तथा स्थायी सम्पत्ति धितो सुरक्षणमा) र गैर कोषमा आधारित कर्जा सुविधाहरु १० लाख भन्दा वढी अधिकतम रु १ करोडसम्म रिभल्विंग कर्जा तथा आवधिक कर्जा योजना ल्याईएको छ ।त्यसैगरी सवारी साधन कजाअन्तर्गत व्यक्तिगत प्रयोजनको लागि सवारी साधन खरिद गर्न सवारी साधनको मूल्यको अधिकतम ५० प्रतिशत (संस्थाको प्रयोजनको हकमा ७० प्रतिशतसम्म) र व्यक्तिगत विद्युतीय सवारी साधनको हकमा ८० प्रतिशतसम्म लगानी हुने गरी र हाल कोभिड १९ को असहज अवस्थाको कारणले शुरुको १ वर्ष ब्याज मात्र भुक्तानी गरे पुग्ने व्यवस्था गरी नयाँ कर्जा योजना ल्याईएको मंगलबार पत्रकार सम्मेलन गरी जनाइएको छ ।साथै उल्लेखित योजनाका अतिरिक्त साविक देखि नै प्रदान गरिंदै आएको आवास कर्जामा समेत निर्माण खर्चको शत्प्रतिशतसम्म र कोरोनाको प्रभावका कारण एक वर्षसम्म साँवा भुक्तानी गर्नु नपर्ने सुविधासहित ८.९९ प्रतिशत वार्षिक व्याजदरमा नै आवास कर्जा उपलव्ध हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।