शिवसताक्षी , साउन २१ । शिवसताक्षीको एक विद्यालयका प्रधानाध्यापकलाई राजनीतिक पूर्वाग्रहका आधारमा पदमुक्त गराइएको छ ।

विद्यालय भवनको सांकेतिक चित्र

शिवसताक्षी ७ स्थित शुक्र माध्यमिक विद्यालयका प्रधानाध्यापक राजनारायण चौधरीलाई सोही वडाका वडाध्यक्ष नवीन ईजमले प्रचलित शिक्षा ऐन तथा नियमावलीविपरित रहेर पदमुक्त गरेको आरोप लागेको हो ।गत साउन ६ गतेका दिन वडाध्यक्ष ईजमले शिक्षा नियमावलीविपरित ३ सदस्यीय विद्यालय व्यवस्थापन समितिमध्ये २ सदस्यको निर्णयमा आफूलाई हटाएको प्रअ चौधरीले आरोप लगाएका हुन् ।गत मंसीर २२ गते विद्यालय व्यवस्थापन समितिको निर्णयानुसार उनै इजमले प्रावि द्वितीय श्रेणीका स्थायी शिक्षक चौधरीलाई प्रअको जिम्मेवारी दिएका थिए ।
शिक्षा नियमावलीमा प्रअ नियुक्तिको विषयमा ज्येष्ठतालाई हेर्ने प्रावधान हुँदाहुँदैं चौधरीभन्दा तल्लो वरियतामा रहेका खगेन्द्रप्रसाद घिमिरेलाई नियुक्ति दिइएको हो । घिमिरे चौधरीभन्दा २ वरियता तलका शिक्षक हुन् । चौधरी २०५० सालमा शिक्षा सेवामा प्रवेश गरी २०६८ मा प्रावि द्वितीय श्रेणीमा बढुवा भएका शिक्षक हुन् भने घिमिरे २०६३ सालमा सेवा शुरु गरी २०७२ सालमा मात्र द्वितीय श्रेणीमा बढुवा भएका हुन् । शिक्षक घिमिरे नेपाल शिक्षक महासंघ, शिवसताक्षीको कार्य समिति सदस्य समेत रहेका व्यक्ति हुन् ।
प्रअबाट हटाइएका चौधरीले साउन ६ गते बसेको निर्णय अमान्य भएको भन्दै जिल्ला शिक्षा समन्वय ईकाई झापामा निवेदन दिएका थिए । इकाईको पत्र संख्या ७७—७८ (विव्य शाखा) चलानी नं. ३१ मार्फत गत साउन ९ गते प्रअ वहाली सम्बन्धमा नियमानुसार कारवाहीको लागि नगरपालिकाको कार्यालयमा पठाएको पत्र शिवसताक्षी नपाको कार्यालयमा दर्ता नं. १४७ मा दर्ता भएको थियो । प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले “प्राप्त पत्रको सन्दर्भमा के कसो भएको हो ? अध्ययन गरी कारवाही अगाडि बढाउनु हुन” भनी शिक्षा शाखालाई तोक लगाई पठाए पनि सो कुरालाई वास्तै नगरी नगर शिक्षा शाखा प्रमुख सुरेन्द्र दाहालले प्रअको खाता परिवर्तन गर्न सिफारिस दिई आफ्नै कार्यालयका प्रमुख प्रशासकीय अधिकृतको तोक आदेश समेत पालना नगरेको बुझिएको छ ।

प्रमुख प्रशासकीय अधिकृतले दिएको तोक आदेश

नेपाल शिक्षक संघ शिवसताक्षीका अध्यक्ष विष्णुबहादुर सुब्बाका अनुसार ऐन, नियम विपरीत राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको यसप्रकारको कार्यले “बाख्रो हराएकोभन्दा पनि बाघ पल्किने डर भएकोले कुनै पनि कार्य नियमसंगत हुनुपर्ने कुरामा नेपाल शिक्षक संघ अडिग रहेको छ । उनले भने, ‘यो राजनीतिक पूर्वाग्रह हो । शिक्षामा राजनीतिकरण वडाध्यक्षबाट भयो, शैक्षिक कार्यमा दादागिरी गरियो । यो मान्य हुँदैंन । अविलम्ब यस निर्णयलाई सच्याउँदैं शैक्षिक वातावरणलाई सुधार्ने प्रयास नगरेमा नेशिसं, शिवसताक्षीले थप संघर्षका कार्यक्रमहरु अगाडि ल्याउन वाध्य हुनुपर्नेछ ।’
यता, पीडित शिक्षक चौधरीले शिक्षकहरुको हकहितको लागि स्थापना भएको नेपाल शिक्षक महासंघ, शिवसताक्षीका अध्यक्ष बेनुप्रसाद कार्कीलाई न्याय पाऊँ भनी निवेदन दिएका थिए । तर अध्यक्ष कार्कीले समेत राजनीतिक पूर्वाग्रहलाई जोड्दै पार्टीको निर्देशनमा सो कुरालाई गम्भीरता नलिई आलटाल गरेको चौधरीको भनाइ छ । उनले महासंघका अध्यक्ष कार्कीलाई उनी कार्यरत विद्यालय वालसेवा आधारभूत विद्यालयमा गई कुरा राख्दा मिटिङ राखी छलफल गर्ने बताएता पनि सो विषयमा कुनै मिटिङ नै नराखेको चौधरीको बुझाइ छ ।
यता, सो विषयमा महासंघका अध्यक्ष कार्कीलाई बुझ्दा उनले चौधरीमाथि अन्याय भएको स्वीकारे । उनले भने, ‘उनीभन्दा माथिल्लो तहका कुनै शिक्षक भए पदमुक्त गर्न मिल्छ, नत्र मिल्दैन । नियम कानुनभन्दा माथि कोही पनि जानुहुँदैन, उहाँको पद फिर्ता हुनुपर्छ ।’
यसैबीच नेपाल शिक्षक संघ, शिवसताक्षीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कार्यको घोर भत्र्सना गरेको छ । संघका अध्यक्ष विष्णुबहादुर सुब्बा र सचिव यादवप्रसाद घिमिरेद्वारा हस्ताक्षरित पत्रमा वडाध्यक्ष इजम अध्यक्ष भएको विद्यालयको प्रशासनिक काम कारवाहीहरु समझदारीपूर्ण र न्यायपूर्ण हुनुपर्ने अपेक्षा गरिएकोमा प्रधानाध्यापकलाई पदबाट जबरजस्ती हटाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित र व्यवहारिक नहुने उल्लेख छ ।
विज्ञप्तिमा लेखिएको छ ः शिक्षा विकास तथा समन्वय इकाई, झापाबाट पीडित प्रअका निवेदनका सम्बन्धमा पठाएको पत्रमा शिवसताक्षी नगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृतबाट तोक लगाई नियमानुसार गर्न भनी शिक्षा शाखामा पुगेको पत्रलाई बेवास्ता गरी शिक्षा प्रमुख सुरेन्द्र दाहालले प्रभाव र दबाबका आधारमा नयाँ नियुक्त प्रअलाई नै बैंक खाता सञ्चालन गर्न सिफारिस दिएको बुझिएको छ । शिक्षा ऐन नियमको कार्यान्वयन गर्ने जिम्मेवारी लिएको शिक्षा शाखाको यस व्यवहारले समेत हामीलाई थप अन्यौल सिर्जना गरेको छ । वि.व्य.स.को निर्णयबाट पीडित बन्न पुगेका प्रअले आफूले स्पष्टिकरण दिने अवसर समेत नपाएको भन्ने गुनासो अझ मार्मिक रहेको छ । सम्बन्धित पक्षले आफ्नो गलत निर्णयलाई अविलम्ब बदर गरी प्रअ चौधरीलाई स–सम्मान पद वहाली गर्न जोडदार माग गर्दै प्रेस विज्ञप्तिद्वारा ध्यानाकर्षण गराइएको छ ।
चौधरीलाई पदमुक्त गरिएको सम्बन्धमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका वडाध्यक्ष इजमले उनको अयोग्य र असक्षमताका कारण पदबाट हटाउनु परेको प्रतिक्रिया दिएका छन् । विद्यालय व्यवस्थापन समितिलाई जानकारी नदिई आफूखुशी काम गर्ने र भनेको कुरा नमानेपछि उनलाई शिक्षा नियमावली २०५९ को दफा २५ ‘क’ अनुसार हटाउने निर्णय गरिएको इजमले बताए ।उनका अनुसार विद्यालयमा शिक्षकको अभावमा पठनपाठन हुन नसकिरहेको अबस्थामा राहत कोटामा शिक्षक ल्याउन पटकपटक गरिएको आग्रहलाई चौधरीले लत्याएका थिए । करिव ७ महिना अगाडि चौधरीले कुवारी माविका शिक्षक हेम उप्रेतीलाई राहत कोटामा ल्याउने गरी विद्यालय व्यवस्थापन समितिसँग सहमति मागेका थिए । समितिले सहमति दिइसकेको अबस्थामा उनले ती शिक्षकलाई ल्याउन सकेनन् । फेरि उनैको सल्लाहमा विज्ञापन खुलाउनु पर्ने कुरा आएपछि विद्यालय व्यवस्थापन समितिले गत फागुन १२ गते विज्ञापन खुलाउने निर्णय गरेको थियो । विज्ञापन खुलाउन समितिले निर्णय गरिसकेपछि उनलाई नगर शिक्षा शाखाबाट सिफारिस लिएर जिल्ला शिक्षा समन्वय ईकाई जान भनिएकोमा ६ महिनासम्म बेवास्ता गर्दै केही दिनअघि कुवारी माविका तिनै शिक्षक उप्रेतीलाई विद्यालयमा ल्याएर मनोमानी गरेको इजमको भनाइ छ । आफूले राहत कोटामा शिक्षक नियुक्तिका लागि ६ पटकसम्म भनेको र सुध्रिने मौका दिँदा समेत नसुध्रिएपछि प्रअबाट पदमुक्त गरिएको वडाध्यक्ष इजमले बताए ।चौधरीमाथि नमूना वालविकासको रकम अनियमितता गरेको , निर्माणसम्पन्न विद्यालय भवनको लागत अनुमोदन नगराएको आरोप समेत रहेको बताइएको छ । सो विद्यालयमा मावि तहसम्म अध्ययन गरिने गरिएपनि स्थायी दरबन्दी भएका निमावि तहसम्मका एकजना पनि शिक्षक रहेका छैनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्