बिराटनगर, साउन २१ । कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र र कोभिड १९ निर्देशक समिति’ बनाएको छ । तर, प्रदेशमा कोरोना संकटले हाहाकार मच्चाइरहेका बेला मुख्यमन्त्री धेरै दिनदेखि गायव छन् ।
संक्रमण नियन्त्रणका लागि चाल्ने आवश्यक कदमका लागि दुईवटा समितिबाट निर्णय हुनुपर्छ । तर, मुख्यमन्त्री राई काठमाडौंमा बस्दा प्रदेशमा कोरोना नियन्त्रणको काम प्रभावित बनेको छ । संक्रमण नियन्त्रणको सबै अभियान नेतृत्व मुख्यमन्त्रीमा केन्द्रित भएका कारण प्रदेशमा योजनाको काम प्रभावित बनेको हो ।
आइसोलेसन बेड अभावमा कोरोना संक्रमितहरु घरमै बस्न बाध्य छन् । जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार कोरोना संक्रमण पुष्टि भएर पनि प्रदेशमा ४० जना भन्दा बढी घर तथा विभिन्न क्वारेन्टिनमा छन् । उनले आइसोसन बेड अभावमा संक्रमितको व्यवस्थापन गर्न कठिन भएको बताए । विराटनगरमा मात्र १६ जना संक्रमितहरु घरमै बसिरहेका छन् । सोमबार रंगेलीमा संक्रमण पुष्टि भएका २२ मध्ये १३ जना क्वारेन्टिइनमै बसिरहेका छन् ।
‘बेड अभावमा संक्रमितलाई व्यवस्थापन गर्न गाह्रो भइरहेको छ ।’ बस्नेतले भने ‘बेड खाली हुनासाथ पठाइहाल्छौं ।’

मन्त्री भन्छन् – मुख्यमन्त्री आएपछि
प्रदेश १ सरकारले संक्रमित बढ्दै गएका कारण कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र रहेको भवनको पछाडिको गोदाममा दुई सय सैय्या आइसोलेसन बेड थप्ने निर्णय गरेको थियो । तर, मुख्यमन्त्री विराटनगरमा नहुँदा काम अघि बढेको छैन ।
संक्रमण तेस्रो चरणमा प्रवेश गरे पनि नियन्त्रण कसरी गर्ने प्रदेश सरकार अलमलमा छ । मुख्यमन्त्री राई विराटनगरमा नहुँदा कोरोना नियन्त्रणको स्पष्ट मार्गचित्र बनाउन नसकिएको प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेको स्वीकारोक्ति छ ।
‘अहिलेको अवस्था नियन्त्रण गर्न औपचारिक मार्गचित्र नै तयार गरेका छैनौं । हामी परामर्शमा छौं,’ घिमिरेले भने ‘मुख्यमन्त्रीज्यू काठमाडौंमा हुनुहुन्छ, उहाँ आएपछि औपचारिक निर्णय गरेर सरकारको धारण र कार्य योजना सार्वजनिक गर्ने योजना छ ।’ प्रदेशमा कोरोनाको जोखिम बढिरेहका बेला काठमाडौंमा सरकारले क्वार्टरका रुपमा उपलब्ध गराएको अपार्टमेन्टमा बसेका मुख्यमन्त्री राई विभिन्न युट्युव च्यानललाई अन्तरवार्ता दिँदै ओली सरकारको बचाऊमा व्यस्थ देखिएका छन् । सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्षमा छ । पार्टीभित्रको विवाद बढिरहेको अवस्थामा १० दिनअघि नै मुख्यमन्त्री राई काठमाडौं पुगेका हुन् ।
नेकपाभित्र प्रधानमन्त्री ओली गुटका मुख्यमन्त्री राई काठमाडौं गएयता प्रदेशमा कोरोना संक्रमितको संख्या पनि बढेको बढ्यै छ । मंगलबारसम्म प्रदेश १ मा एक हजार १७१ जनामा संक्रमण देखिएको छ । मुख्यमन्त्री राई अझै प्रदेश फर्कने टुंगो छैन । ‘आज या भोलि फर्कन्छौं होला’ मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले भने ।’

मुख्यमन्त्री शेरधन राईसँगै आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बो, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङ पनि काठमाडौंमै छन् । दुई साता लामो काठमाडौं बसाइपछि आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की भने शुक्रबार बिराटनगर फर्किएका छन् ।

मेयर भन्छन् – ‘हामीले नाक जोत्नु परेको छ’
समुदायस्तरमा संक्रमण फैलिएको बिराटनगरमा संक्रमितलाई राख्ने आइसोलेसन बेड अभाव छ । मंगलबारसम्म विराटनगरमा ३ महिलासहित १२ जना कोरोना संक्रमित घरमै बस्न बाध्य छन् । आइसोलेसन बेड नभएका कारण महानगरले संक्रमितलाई व्यवस्थापन गर्न सकेको छैन ।
‘संक्रमितहरु बढे पनि संघ र प्रदेशबाट आवश्यक सहयोग पाएका छैनौं,’ विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली भन्छन्, ‘हामीले नाक जोतिने गरी काम गर्नुपरेको छ ।’
प्रदेश र संघले सहयोग नगर्दा महानगरको लकडाउन पनि प्रभावकारी नभएको पराजुलीको गुनासो छ । ‘स्थानीय तहको जिम्मा क्वारेन्टाइन थियो, हामीले बनायौं ।’ उनले भने ‘आइसोलेसनको जिम्मा प्रदेश र संघको थियो, बिराटनगरमा दुईसय बेड थप्ने निर्णय पहिल्यै भएको हो । तर, काम नहुँदा संक्रमितलाई कहाँ राख्ने भन्ने चिन्ता छ ।’ माथिल्लो तहले समन्वय नगरेका कारण विराटनगरमा संक्रमणको भयावह स्थिति आउनसक्ने उनले बताए । अनलाईनखबरबाट ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्