बिर्तामोड , साउन २१ । कोरोना संक्रमण देखिएकी प्रहरी चौकी बिर्ताबजारकी महिला प्रहरीको सम्पर्कमा आएका १७८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

ती संक्रमित महिला प्रहरीले धेरैजनासँग सम्पर्क गरेकाले धेरै संख्यामा कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो । उनको सम्पर्कका आएका सुरक्षाकर्मी , स्वास्थ्यकर्मी , क्वारेन्टाइनमा बस्नेहरु , दूध बेच्ने , किराना , सब्जी पसल, औषधी पसल, बहाल दिने घरधनी, छरछिमेक गरी १७८ जनाको स्वाब संकलन गरी सोमबार परीक्षणका लागि पठाइएको थियो । ती सबैको रिपोर्ट नेगेटिभ आएको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तुलसी पोखरेलले बताए । ती महिला प्रहरीको सम्पर्कमा आएका छुटेका अन्यको आज कन्ट्याक्ट ट्रेसिङ गरिएको उनले बताए । प्रहरी चौकी बिर्ताबजारमा कार्यरत २४ वर्षिया ती महिला प्रहरीलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै झापाको अर्जुनधारा नगरपालिका– १ सिस्नेमा गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्थानीय एक युवामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस समुदायमा फैलिएको आशंकाले समुदायमा कन्ट्याक ट्रेसिङ गरी स्वाब संकलन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले बताए ।
अर्जुनधारा स्वास्थ्य शाखाले सोमबार अर्जुनधारा –१ नम्बर वडाका ७१ जनाको स्वाब संकलन गरी परीक्षणका लागि विराटनगर पठाइएको थियो । ७१ जना सबैको आज बुधबार रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए । उनका अनुसार संक्रमित पुष्टि भएका व्यक्तिको परिवारको रिपोर्ट पनि नेगेटिभ आएको छ । अन्य वडामा पनि कन्ट्याक ट्रेसिङ गरिएको छ । बुधबार मात्र १२७ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । जसमा २५ जना क्वारेन्टाइनमा रहेका व्यक्ति छन् ।
नगर स्वास्थ्य शाखाले अर्जुनधारा ४, ५, ७, ८, ९, १० र ११ नम्बर वडाका १०२ जनाको कन्ट्याक ट्रेसिङ गरिएपछि स्वाब संकलन गरिएको बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्