दमक, साउन २३ । देशैभर कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि दमकमा संभावित जोखिम न्यूनीकरणका हदैसम्मको सजगता अपनाउन दमक उद्योग वाणिज्य संघले सार्वजनिक रुपमा सवैसंग अपिल गरेको छ ।

संघले सार्वजनिक सूचना मार्फत आमव्यवसायी तथा उपभोक्ताहरुलाई कोरोना संक्रमणको सम्भावित जोखिम कम गर्न आआफ्नो पसल अगाडि अनिवार्य हात धुन, ठिकसंग मास्कको प्रयोग गर्न, भीडभाड नगर्न, व्यक्तिगत तथा सामाजिक दुरी कायम राख्न आग्रह गरेको हो ।
संघका अध्यक्ष गोकुल श्रेष्ठको नेतृत्वमा संघका नेताहरुले दमकको तरकारी बजार क्षेत्रका पसलपसलमा पुगेर त्यस क्षेत्रमा भईरहेको भीडभाडलाई कम गर्दै पर्याप्त सावधानी अपनाउन आग्रह गरेका हुन् । व्यवसायीहरुले सावधानी अपनाउन कडाई गर्दै सुरक्षा व्यवस्था राम्रो बनाउनका लागि सो स्थानमा नगर प्रहरीको आवश्यकता औंल्याएका संघका प्रथम उपाध्यक्ष राजु खड्काले जानकारी दिए ।
व्यवसायीहरुको मागलाई ध्यानमा राख्दै संघका अध्यक्ष श्रेष्ठले तत्कालै नगरपालिकाकासंग नगर प्रहरी खटाउन माग गरेका छन् । अध्यक्ष श्रेष्ठले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनासंग त्यस्तो माग गरिएको र शुक्रबार बिहान ७ बजेदेखि नयाँ तरकारी बजारस्थलमा २ जना नगर प्रहरी खटाउने आश्वासन दिएको जनाएका छन् ।
संघअन्तर्गतको रोजगारदाता इकाई परिषदकी संयोजक रमा लिम्बु, सदस्यहरु सन्दिप चापागाइँ, विवेक भट्टराई, बन्दना रिमाल, देवेन्द्र बराल, कष्ण खनाल लगायतले तरकारी बजारमा पुगेर तरकारी तथा फलफुल व्यवसायी संघका अध्यक्ष कुमार श्रेष्ठसहित व्यवसायीहरुसंग प्रत्यक्ष छलफल गरी त्यहाँ आवश्यक सतर्कताका लागि सबै उपायहरु अवलम्बन गर्न आग्रह गरेका छन् ।
यसैगरी नगरपालिकाले पनि कोरोना संक्रमणको जोखिम पछिल्ला समय झनै फैलिदै गएकाले नगरवासीहरुले उच्च सावधानी अपनाउन आग्रह गरेको छ । नगरपालिकाले सार्वजनिक रुपमा सूचना गरी संक्रमण फैलिन नदिन स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको जनाईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्