मनिषा चम्लागाईँ । झापा, साउन २३।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चियाको लोगो ‘ट्रेडमार्क’ कार्यान्वयन चरणमा केही चिया उद्योग तथा व्यवसायीलाई सिफारिस गरेको छ । ‘नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४’ले तय गरेको मापदण्ड पुरा गरेका केही चिया उद्योगलाई लोगो प्रदान गर्ने तयारी सुरु गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।
नेपाली चियाको पहिचान विश्व बजारमा स्थापित गर्नका लागि बोर्डले निर्देशिका अनुसार मापदण्ड तय गरेको छ । बोर्डले लोगो प्रयोगका लागि चिया उद्योगी, व्यवसायीबाट माग गरेको निवेदनमा ४२ वटा निवेदन दर्ता भएका थिए । निवेदन दर्ता गराएका उद्योग तथा व्यवसायीको फ्याक्ट्री तथा चिया बगानको अनुगमन गरी केही चिया उद्योगलाई लोगो प्रदान गर्ने तयारी गरेको मार्क अनुगमन, व्यवस्थापन नियमन समितिका उपाध्यक्ष उदय चापागाईँले बताए ।
“अहिलेसम्म विश्व बजारमा आ–आफ्नो उद्योगको नाममा चिया निर्यात हुँदै आएको थियो” हिमालयन टि प्रोडियुसर्स कोओपरेटिभ्स लि.का अध्यक्षसमेत रहेका चापागाईँ भन्छन्, “लोगो प्रयोगमा ल्याइएपछि व्यवसायीले सोझै पठाउने गरेको चियालाई राष्ट्रियता झल्कने ‘नेपाल टि, क्वालिटि फ्रम द हिमालयन’ नामक लोगोसहित पठाउन पाउने भएका छन् ।” लोगो प्रदान गर्नका लागि ९ सदस्यीय अनुगमन समिति बनाइएको छ । जसमा सम्बन्धित सरोकारवाला र २ जना चिया विज्ञसमेत रहेका छन् । व्यवसायीले लोगो प्रयोग गर्नुअघि उत्पादन गरेको हरियो पत्ती र तयारी चियाको परिमाण बोर्डलाई देखाउनुपर्ने निर्देंशिकामा उल्लेख छ । नेपाली अर्थोडक्स चिया उत्पादकले लोगो प्राप्त गर्नका लागि गुणस्तरीय चिया उत्पादन गर्नु पर्ने चापागाईँको भनाई छ ।
सरकारले चिया उद्योगी तथा व्यवसायीलाई आवश्यक सहयोग नगरिरहेको अवस्थामा व्यवसायीको पहलमा लोगो स्थापना गर्न सफल भएको चापागाईँ बताउँछन् । “सरकारले नेपाली चियालाई अन्तर्राष्ट्रियकरण गर्ने विषयमा बजेट शुन्य छ” चापागाईँ भन्छन्, “व्यवसायीलाई सरकारले सहयोग त गरेको छैन, अबरोध नगरी दिने हो भने नेपालको पहिचान झल्कने गुणस्तरीय चिया हामी विश्व बजारमा पु¥याउने छौँ ।” वि.सं. १९२० मा रोपिएको चियाले पहिचान पाउनु नेपालीका लागि गौरवको विषय रहेको चापागाईँले जनाए । नेपालबाट निकासी हुने सबै चियामा नेपालको एउटै लोगो लागेर जाँदा नेपाली चिया साथै नेपालीको पहिचान विश्व बजारमा स्थापित हुने व्यवसायीको भनाई छ ।


लोगो प्राप्तपछि उद्योगमा कसरी चिया उत्पादन, प्रशोधन र प्याकेजिङको काम भइरहेको छ भन्ने विषयको अनुगमन हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णु भट्टराईले बताए । लोगो कार्यान्वयनपछि अनुगमन समितिले किसानको चियाबारी, चिया टिपाइको अवस्थाबारे निरीक्षण समेत गर्ने भट्टराई बताउँछन् । निर्देशिकामा उल्लेख भएका आचारसंहिता उल्लङ्घन गरेमा उद्योग तथा व्यवसायीले पाएको लोगो खोस्नसमेत सकिने कार्यविधि रहेको छ ।
“मापदण्ड पूरा भएका सबैलाई सार्वजनिक रूपमै एक साथ लोगो प्रदान गर्ने छौँ” भट्टराईले भने, “लोगो प्रयोग गरेबापत व्यवसायीले प्रतिकिलो ५० पैसा बोर्डमा जम्मा गर्नुपर्छ उक्त रकम चियाको बजारीकरणका लागि खर्च गरिने छ ।” यसरी कार्यान्वयनमा ल्याइएको लोगो आफ्नो उत्पादन निकासी हुने देशमा उद्योगी तथा व्यवसायीले दर्ता गराउनु नपर्ने भट्टराईले बताए । “व्यवसायीले गुणस्तरीय चिया उत्पादन गरे पुग्छ” उनले भने, “सम्पूर्ण प्रकृया बोर्डले नै पुरा गर्छ ।” ‘ट्रेडमार्क’ कार्यान्वयन पछि व्यवसायीले कति चिया निर्यात गर्दै छन् भन्ने तथ्यांकसमेत बोर्डमा रहने भएकाले अनुगमनमासमेत सहज हुने बोर्डले जनाएको छ ।
अहिले विश्वका १३ वटा मुलुकमा नेपाली अर्थोडक्स चिया निर्यात हुँदै आएको छ । थोरै मात्रामा चिया निर्यात हुँदै आएको उक्त मुलुकमा लोगो प्रदानपछि निर्यातको मात्रा बढाउन सकिने चिया व्यवसायी बताउँछन् । विशेष गरी जापान, अमेरीका, जर्मन, फ्रान्स, बेलायत, चिनलगायत देशमा नेपाली अर्थोडक्स चिया निर्यात हुँदै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्