शिवगञ्ज, साउन २३ । झापाको शिवसताक्षी –७ चन्द्रडाँगीस्थित शुक्र माविको प्रधानाध्यापकबाट हटाइएका राजनारायण चौधरीलाई नेपाल शिक्षक संघले पुनर्वहाली गराएको छ ।

चौधरीलाई हटाउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका शिवसताक्षी ७ का वडाध्यक्ष नवीन इजमकै सामुन्ने शिक्षक संघले पुनर्वहाली गराएको हो । उच्च अदालतले पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएपछि वडाध्यक्ष इजमलाई बोलाएर आज एक कार्यक्रमका बीच पदमुक्त चौधरीलाई प्रधानाध्यापकको कुर्सीमा लगेर राखिएको हो ।
सम्बन्धित वडाका वडाध्यक्ष इजमको अध्यक्षतामा रहेको विद्यालय व्यवस्थापन समितिले गत साउन ६ गतेको निर्णय अनुसार प्रधानाध्यापक चौधरीलाई सो पदबाट हटाई सोही विद्यालयमा कार्यरत अर्का शिक्षक खगेन्द्र घिमिरेलाई नियुक्त गरेको थियो । त्यस बिषयमा उच्च अदालत विराटनगरको इलाम इजलासका न्यायाधीस शिवनारायण यादवको एकल इजलासले हिजो जारी गरेको आदेशमा श्रावण ६ गतेको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन भनिएको छ । अन्तरिम आदेशको भोलिपल्ट शिक्षक संघले एक कार्यक्रम गरी पुनर्वहाली गराउँदै शिक्षा नियमावली विपरित चौधरीलाई पदमुक्त गराएको जनाएको छ । कार्यक्रममा नेपाल शिक्षक संघ शिवसताक्षीका अध्यक्ष विष्णु सुब्बाले भ्रष्टाचार गरेको, नैतिक रुपमा पतन भएको , फौजदारी अभियोगजस्ता कसूर भएमात्र पदबाट मुक्त गर्ने प्रावधान रहेको भन्दै प्रअ चौधरीलाई स्पष्टीकरण दिने मौकासमेत नदिई निरंकुश शैलीमा पदबाट हटाइएको आरोप लगाए । नेपाली कांग्रेस शिवसताक्षीका सभापति पर्शुराम ढुंगानाले शिक्षा नियमावली अध्ययन गरेर मात्र निर्णय लिन इजमलाई सुझाव दिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रहेका वडाध्यक्ष इजमले अदालतको फैसलालाई आत्मसात गर्ने बताउँदै अदालतको फैसला आफ्नो हातमा नआएसम्म चौधरीलाई प्रअमा पुनर्वहाली गर्न नसकिने धारणा राखे । शिक्षक संघ झापाका सहसचिव जितलाल चौधरीले संचालन गरेको कार्यक्रममा शिक्षक कुमार खतिवडाले पनि बोलेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्