झापा, साउन २३ । १७ वर्षअघि झापा गाउँपालिका ४ वस्ने ४५ वर्षिय बिरिकलाल माझीको हत्या गरी फरार रहेका जलथलका दुर्गाबहादुर थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक साकारराज पन्तको कमाण्डमा खटिएको बिशेष टोलीले हिजो मेचीनगर १२ स्थित सहरेडाँगीमा आफन्तको घरमा लुकिछिपि बसिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो । घटनापश्चात् उनी आफ्नो घरमा नबसी काठमाण्डौ , भारतको कोलकात्ता, दार्जिलिङ लगायतका स्थानमा गएका थिए । त्यस्तै वैदेशिक रोजगारीको लागि मलेसिया साथै दुबईमा समेत गइबसेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
२०६० कातिक ३० गते थापा मगरसहितका ३–४ जनाले बिरीकलाल माझीलाई होटलमा भएको विवादकै निहँुमा एक्कासी भुईमा लडाई चिरपट दाउरा र बुटले प्रहार गरी गम्भिर घाईते बनाएका थिए । घाईते माझीलाई उपचारको लागी मेची अस्पतालमा लगिएकोमा उपचारका क्रममा २०६० मंसिर ४ गते मृत्यु भएको थियो । ज्वाइँ पर्ने बिरिकलालको मृत्युपछि ससुरा बिष्णुलाल माझीले घटनामा संलग्नमाथि उजुरी दिएका थिए । पक्राउ मगरलाई झापा जिल्ला अदालतबाट पहिलो पटक पाँच दिनको म्याद थप गरी हाल अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको छ । उनले मुलुकी ऐन २०२० को ज्यानसम्बन्धी महलको दफा १३ बमोजिमको कसुर गरेकाले जन्म कैद सम्मको सजाय हुन सक्ने व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्