झापा , साउन २६ । भदौको पहिलो सातामा मात्र रासायनिक मल युरिया आउने भएको छ ।

युरिया नपाएर किसानहरु समस्यामा परेका बेला साल्ट ट्रेडिङ कर्पोरेशनले भदौको पहिलो साता मल आपूर्ति गर्ने तयारी गरेको हो । साल्ट ट्रेडिङ कर्पोरेशनले मगाएको मल भारतको कोलकाता आइपुगेको र त्यहाँबाट वीरगञ्ज– विराटनगर हुँदै बिर्तामोड ल्याई पु¥याउन केही दिन लाग्ने साल्ट ट्रेडिङ कर्पोरेशन बिर्तामोड शाखाका प्रमुख देवराज भट्टराईले बताए । उनले झापा जिल्लाको लागि ५० हजार बोरा मल मगाएको जानकारी दिए । रासायनिक मल कहीकतैबाट आपूर्ति नभइरहेका बेला त्यति मल किसानका लागि अपुग हुने भएको छ । झापा जिल्लालाई अहिलेको धान बालीका लागि ४ हजार मेट्रिक टन मल आबश्यक छ ।तर, साल्ट ट्रेडिङ कर्पोरेशनले ५० हजार बोरा अर्थात २५ लाख मेट्रिक टन मल मात्र आपूर्ति गर्ने भएको छ । कृषि सामग्री संस्थानले मल आपूर्ति गर्न नसक्ने भएपछि समस्या आएको हो । गत मंगलबार बसेको जिल्ला मलखाद आपूर्ति तथा व्यवस्थापन समितिले केन्द्रसँग ४ हजार मेट्रिक टन मल माग गरेको थियो । समितिका संयोजक रहेका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले मलको आबश्यकता र किसानको समस्याबारे केन्द्रलाई पटकपटक अवगत गराएको जानकारी दिए । ‘ मलको समस्या जगजाहेर नै छ ’ उनले भने,‘ मल नआउँदा पालिकाका जनप्रतिनिधिहरुले डेलिगेशन आएर हैरान पारिसक्नु भयो ।’ उनले खपतअनुसारको मल नआउने भएपनि आएको मललाई समानुपातिक हिसाबले वितरण गर्नुपर्नेमा जोड दिए । साल्ट ट्रेडिङ कर्पोरेशनसँग ९० वटा डिलर आवद्ध छन् । त्यस्तै कृषि सामग्री संस्थानसँग अलग्गै डिलर रहेका छन् । आफ्नो र अरुको नभनी सबैलाई पुग्नेगरी दामासाहीको रुपमा मलको बिक्री वितरणको व्यवस्था मिलाइने प्रजिअ रानामगरले बताए ।
यस वर्ष लगातार वर्षा भइरहेकाले झापामा विगतभन्दा बढी क्षेत्रफलमा रापाइँ भएको छ । जिल्लाको कुल खेतीयोग्य जमिनको ९९ प्रतिशत भूभागमा रोपाइँ भईसकेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । केन्द्रका प्रमुख निलकमल सिंहका अनुसार यस वर्ष ८७ हजार ५ सय हेक्टर जमिनमा रोपाइँ भएको छ । गत वर्ष ९७ प्रतिशत भूभागमा रोपाइँ भएको थियो । धान रोपेको २५ दिनमा युरिया मल टपलेस गर्नु पर्ने भएकाले अहिले क्रिटिकल अबस्था आइपुगेको कार्यालय प्रमुख सिंहले बताए । उनले बेलैमा मल नआईपुग्दा धेरै किसानको धान बाली बिग्रिन सक्ने भन्दै चिन्ता ब्यक्त गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्