हल्दिबारी, साउन २७ । हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनलाई फेरि किनारा लगाउँदै उपाध्यक्ष डम्बरबहादुर गिरीसहितले सातौं गाउँसभा सम्पन्न गरेका छन् ।

असार १० गतेको गाउँसभाको पहिलो बैठकजस्तै हिजो बोलाइएको दोस्रो बैठक पनि अध्यक्ष लिङदेनले बहिष्कार गरेका थिए । गाउँसभा शुरु नै नगरी सभा स्थगन भएको भन्दै अध्यक्ष लिङदेन आफ्ना सदस्यसहित बाहिरिएपछि २३ जना सदस्यहरुले उपाध्यक्ष गिरीको अध्यक्षतामा गाउँसभाको दोस्रो बैठक सम्पन्न गरेको वडा नम्बर १ का वडा अध्यक्ष त्रिलोचन सापकोटाले बताए ।गाउँसभा सम्पन्न भएको दावीसहित उपाध्यक्ष गिरीले गाउँपालिकाको काम कार्वाही आजबाट शुरु गर्ने निर्णय गरेका छन्। गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले एक सूचना जारी गरी गाउँसभा सम्पन्न भई आजबाट गाउँपालिकाको काम कार्वाही सुचारु हुने जनाएका छन् ।

सातौं गाउँसभाको दोस्रो बैठकले रोकिएको काम कार्वाही सबै वडा कार्यालय तथा सम्बन्धित निकायले शुरु गर्ने, गाउँसभाको निर्णय तथा प्रमाणीकरण उपाध्यक्षले गर्ने निर्णय गरेको छ । त्यसैगरी गाउँसभाले ३४ वटा नियम, विनियम, स्थानीय कानुन समेत पारित गरेको गाउँपालिकाका प्रवक्ता पोर्तेलले जानकारी दिए ।गाउँसभाको पहिलो बैठकमा अध्यक्षबिना प्रमाणीकरण भएको बजेट, नीति तथा कार्यक्रमको कार्यान्वयन पनि अध्यक्ष विना नै हुने देखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्