झापा , साउन २९ । सरकारले नयाँ शैक्षिक सत्रका क्रियाकलाप सञ्चालनका लागि विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन हटाउने निर्णय गरेसँगैे झापाका विद्यालयमा राखिएका क्वारेन्टाइनहरु हटाउन थालिएको छ ।

झापाका ४१ वटा सामुदायिक विद्यालयमा क्वारेन्टाइन राखिएको थियो । त्यसमध्ये आधाभन्दा बढी खाली गराइसकिएको जिल्ला शिक्षा समन्वय इकाईले जनाएको छ । ‘ जिल्लाका ४१ वटा विद्यालयमा क्वारेन्टाइन र होल्डिङ सेन्टर राखिएको थियो ’ इकाई प्रमुख जयप्रसाद महतले भने,‘ त्यसमध्ये थोरै मात्र खाली गर्न बाँकीे छ ।’ उनले विद्यालय क्षेत्रको नजिक क्वारेन्टाइन र आइसोलेसन सेन्टर नराख्न स्थानीय तहहरुलाई आग्रह गरिएको जानकारी दिए । इकाई प्रमुख महतले मेचीनगर, अर्जुनधारा, कनकाईलगायतका नगरपालिकासँगै कचनकवल गाउँपालिकासहित १५ वटै पालिकाहरुले विद्यालयबाट क्वारेन्टाइन हटाउन थालिसकेको जानकारी दिए । सरकारले नयाँ शैक्षिक सत्रका क्रियाकलाप सञ्चालनका लागि विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन हटाउने निर्णय गरेको थियो । भदौ १ गतेदेखि नयाँ विद्यार्थी भर्ना र कक्षागत रुपमा विद्यार्थीको संख्यात्मक विवरण यकिन गर्दै भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्याङ्क भराउने निर्णय सरकारले गरेकोमा त्यसलाई पछि सारिएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै विद्यार्थी भर्ना, तथ्याङ्क भराउने जस्ता शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरिएको हो । विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन हटाएर सो स्थानलाई अध्ययन अध्यापनयोग्य बनाउन निर्मलीकरण गर्नुपर्नेसमेत जनाइएको छ । जिल्लाका विद्यालयमा रहेका क्वारेन्टाइनहरुलाई केही पालिकाहरुले हटाइसकेका छन् भने केहीले सार्ने तयारी गरेका छन् । कनकाई नगरपालिकाको ६ वटा सामुदायिक विद्यालय र क्याम्पसमा रहेका सबै क्वारेन्टाइनलाई त्यहाँबाट सारिएको छ । आदर्श विद्या मन्दिर , भृकुटी मावि , जनता आधारभूत , कन्काई क्याम्पस , कनकाई मावि र हिमाली माविमा क्वारेन्टाइन राखिएको थियो । ती क्वारेन्टाइनहरुलाई जेसीज भवन , ज्येष्ठ नागरिक भवन, सामुदायिक भवनमा सारिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र न्यौपानेले जानकारी दिए । त्यस्तै गौरादह नगरपालिकाले विद्यालयमा रहेका क्वारेन्टाइनहरुलाई सार्ने तयारी गरेको छ । अहिले ६ वटा विद्यालयमा क्वारेन्टाइन राखिएको छ । ती क्वारेन्टाइनलाई सारेर विद्यालय खाली गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत खेम ओझाले बताए । ‘ हामी विद्यालयमा रहेका सबै क्वारेन्टाइन सार्दैछौं ’ उनले भने,‘ सारेर महारानीझोडाको नमूना कृषि पाहुना घर र गौरादह ७ को सामुदायिक भवनमा सय बेडको क्वारेन्टाइन राख्दैछौं ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्