बिर्तामोड , साउन २९ । झापाको बिर्तामोड ६ मा आमाजुलाई कोरोना संक्रमण देखिएको केही दिनपछि नन्दलाई पनि संक्रमण देखिएको छ ।

भारतको बिहारबाट फर्केर देवी क्याम्पस क्वारेन्टाइनमा बसेका २९ वर्षिया महिलामा आज कोरोना पुष्टि भएको बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए । उनको साथमा बसेका दुई वर्ष र ६ वर्षका दुई छोराको रिपोर्ट भने नेगेटिभ आएको छ । भारतबाट फर्केर एउटै क्वारेन्टाइनमा बसेका ती महिलाको आमाजुलाई केही दिन अघि संक्रमण भएको थियो । उनको भद्रपुरको मेची प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । त्यसबेलाको परीक्षणमा आज संक्रमित महिलाको रिपोर्ट नेगेटिभ आएको थियो । प्रदेश १ मा आज १ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । तीमध्ये मोरंगमा मात्र ८८ जना छन् भने सुनसरीमा १९ जना, इलाममा ४, झापा र उदयपुरमा १–१ जना रहेका छन् । यस्तै, प्रदेश १ बाहिरका जिल्लाका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मोरंगको विराटनगरका २२ महिला र ३८ पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै, बुढीगंगामा २५ पुरुष, कटहरीमा २ महिला र १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । यस्तै, सुनसरीको इटहरीमा ३ महिला र १० पुरुषमा संक्रमण देखिएको छ भने दुहवीमा ३ पुरुष, धरानमा १ महिला र बराहक्षेत्र र राधुनीमा १–१ पुरुषमा संक्रमण पुष्टि भएको छ । इलामको सन्दकपुरमा ४ पुरुष, झापाको बिर्तामोडमा १ महिला र उदयपुरकी १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ६ सय २६ पुगेको छ । प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या १ हजार ४० पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्