भद्रपुर, साउन २९ । कचनकवल नेतृत्वले वडागत वजेट विनियोजन गर्दा विभेद गर्दै न्यून रकम छुट्याएको भन्दै ४ कार्यपालिका सदस्यसहित १४ परिषद सदस्यले निर्णय सच्याउन ५ दिने अल्टिमेटम दिएका छन् ।

गाउँपालिका अध्यक्षले कार्यपालिकाको बैठक नै नराखी आफूखुसी ६० लाखको वजेट सिलिङ १० लाखमा झारेको भन्दै ४ वडाध्यक्ष तथा १० वडा सदस्यहरूले निर्णय सच्याउन माग राखी ५ दिने अल्टिमेटम दिँदै ज्ञापनपत्र बुझाएका हुन् । वडाध्यक्ष मेखबहादुर भट्टराईको नेतृत्वमा गाउँपालिकाकी उपाध्यक्ष निमसरी राजवंशीमार्फत अध्यक्ष अञ्जार आलमलाई ज्ञापनपत्र बुझाइएको हो ।
वडाध्यक्षहरूमा वडा नम्बर २ का अध्यक्ष मेखबहादुर भट्टराई, ४ का परमानन्दसिंह राजवंशी, ६ का अध्यक्ष कुलबहादुर कार्की र ७ का अध्यक्ष भरत राजवंशी रहेका छन् । त्यस्तै वडा नम्वर १, २, ४, ६ र ७ का गरी १० जना परिषद सदस्य गरी १४ जनाले विगत आर्थिक वर्षकै हाराहारीमा वजेट विनियोजन हुनु पर्ने माग राखेका छन् ।
२०७७ जेठ १८ गते गाउँपालिकाले ६० लाखका दरले वजेट पठाउने भन्दै हरेक वडा कार्यालयलाई सोही अनुसार टोल विकासमार्फत योजना छनौट गर्न पत्राचार गरेको थियो । वडाबाट ६० लाखका योजना गाउँपालिकामा प्रस्तुत गरिसकेपछि एकाएक १० लाख मात्र दिने परिषद बैठकमा पारित गरेकोप्रति नेपाली काँग्रेस र नेकपाबाट विजयी जनप्रतिनिधिहरूले आपत्ति जनाएका हुन् । विगत वर्षभन्दा करको दर समेत बढाएको गाउँपालिका नेतृत्वले वडाको वजेट समेत रोकेर आफू हावी हुन खोजेको आरोप लगाउँदै वडाध्यक्षसहितका परिषद सदस्य आन्दोलित भएका हुन् ।
ज्ञापनपत्रमा ५ दिने अल्टिमेटम दिँदै वजेट सिलिङ यथावत हुनु पर्ने, जनताले तिर्नु पर्ने राजश्व साविक अनुसार नै हुनु पर्ने, गाउँपालिकाभित्रका सडक मर्मत लगायत विकास निर्माणका काम वडामार्फत हुनु पर्ने, योजना तथा अनुदान वडा कार्यालयको सिफारिसमा हुनु पर्ने र विकास निर्माणको चरम लापरवाही र सामग्री वितरण प्रणाली पारदर्शी नभएकोले छानविन गरिनु पर्ने माग राखिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष ०७७–७८ का लागि असार ३१ गते ५३ करोड ८९ लाख ६० हजार एक सय रूपैयाको बजेट बहुमतले पारित गरेको छ । गाउँपालिकाको असार १० गतेबाट सुरू भएको गाउँसभा अन्त्य गर्दै परिषद सदस्यहरूको बहुमतले बजेट पारित गरेका थिए । गाउँपालिका अध्यक्ष आलमको अध्यक्षतामा सम्पन्न भएको सभा सुरू हुनेवित्तिकै ४ जना वडाध्यक्ष तथा १० जना परिषद सदस्यहरूले कार्यपालिका सदस्यहरूले आफ्ना वडामा आउने ६० लाख बजेटलाई १० लाखमा झारिएको भन्दै सभा बहिस्कार गरेका थिए । ७ वडा वडा रहेको कचनकवलमा ४ र ७ नम्वर वडाध्यक्षसहित ८ जना नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् भने तत्कालीन एमालेबाट २ र ६ नम्वर वडाध्यक्षसहित ६ जना जनप्रतिनिधि निर्वाचित छन् । काँग्रेस र नेकपा सम्बद्ध जनप्रतिनिधिले बहिस्कार गरेपनि राप्रपाको बहुमत भएका कारण गाउँसभाले वजेट पारित गर्न सफल गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्