बिर्तामोड, साउन ३० । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एकका लागि एक अभियानले झापाको कनकाईमा पिसिआर परीक्षण ल्याब स्थापना गरेकोमा प्रशंसा गरेका छन् ।

शुक्रबार कनकाईस्थित समर्पण भवनमा स्थापना भइसकेको ल्याबको स्थलगत निरीक्षणपछि मुख्यमन्त्री राईले ल्याब आफूले सोचेभन्दा धेरै नै व्यवस्थित रहेको पनि बताए । ‘मैले धेरैवटा ल्याब हेरेको छु‘, मुख्यमन्त्री राईले भने, ‘तर, नागरिकले स्थापना गरेको यो ल्याब धेरै नै उत्कृष्ट र व्यवस्थित रहेछ ।’
उनले नागरिकको पहलमा सरकारलाई सहयोग गर्ने हिसाबले स्थापना गरिएको ल्याब सञ्चालनका लागि आफू गम्भीर रहेको बताए । ‘यत्तिको उत्कृष्ट ल्याब सञ्चालनमा किन आउन सकिरहेको छैन’, उनले प्रश्न गरे, ‘यो कहाँ अड्किएको रहेछ, कसले अनुमति दिनुपर्ने रहेछ म खोजी गर्छु ।’
निरीक्षणपछि भएको छलफलमा मुख्यमन्त्री राईले आजै विराटनगर पुग्नेबित्तिकै सबैभन्दा पहिला यसका बारेमा खोजीनीति गर्ने र एकदुई दिनभित्रमा अनुमति प्राप्त प्रदान गरेर यसलाई सञ्चालन गर्ने प्रबन्ध मिलाउने कुराको वचन दिएका छन् ।
प्रदेश १ मा समुदायमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला गम्भीर बन्दै परीक्षणको दायरा बढाउनुपर्ने उनको भनाइ थियो । त्यसकारण पनि एकका लागि एकले स्थापना गरेको ल्याब चाँडै सञ्चालनमा ल्याउने उनले प्रतिबद्धता व्यक्त गरे ।मुख्यमन्त्री राईले प्रदेशबासीमा कोरोनाप्रति सजग रहन आग्रह पनि गरेका थिए । ‘हामी सबैजना आआफ्नो ठाउँबाट कोरोनाविरुद्ध लागौँ’, उनले भने, ‘सबैले सावधानी अपनाऔँ, सबैलाई अपिल गरौँ, यो प्रदेशबाट कोरोनालाई पराजित गरौँ ।’
छलफलमा प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेललगायतले सरकारले यथाशक्य चाँडो ल्याब सञ्चालनमा ल्याउनैपर्ने बताए । कानुनी प्रावधान हेरेर ल्याब सञ्चालन गर्न ढिलो गर्न नहुने उनीहरुको तर्क थियो ।
अभियानका संयोजक महेन्द्रकुमार गिरीले अभियानले पृष्ठभूमि र उद्देश्यका बारेमा प्रष्ट पारेका थिए । उनले नागरिकको पवित्र भावनालाई नजरअन्दाज नगर्न आग्रह गरेका थिए । छलफलको सहजीकरण पत्रकार एकराज गिरीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्