दमक, साउन ३० । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान कम्युनिष्ट सरकारले नेपाली जनताको लागि नभई केवल कम्युनिष्टहरुका लागि मात्रै काम गरिरहेको आरोप लगाएका छन् ।
कोरोना महामारीपछि उत्पन्न परिस्थितिमा वर्तमान सरकार कम्युनिष्टहरुका लागि मात्रै भएको दृष्टान्त प्रस्तुत गर्दै नेता सिटौलाले कम्युनिष्टहरुको अधिनायकवादका विरुद्ध नेपाली जनताले कांग्रेसलाई सडकमा बोलाईरहेको जिकिर गरे । नेता सिटौला कमल गाउँपालिकामा पार्टीको गाउँ समितिले आयोजना गरेको नवप्रवेशीहरुको स्वागत तथा अगुवा कार्यकर्ताहरुको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै थिए ।
कोरोना संक्रमणपछि घोषणा गरिएको लकडाउनमा राहत बाँड्ने, काठमाडौं र विदेशका विभिन्न ठाउँबाट गरीब मजदुरहरुको उद्धार गर्ने मामिलामा समेत सरकारले कम्युनिजम भित्र्याएको उनले आरोप लगाए । सिटौलाले भने– यस्तो संक्रमणको बेला कमसेकम सबै नेपाली जनतामाथि न्याय हुनुपर्नेमा कम्युनिष्ट भए तिनको उद्धार हुने, कम्युनिष्टले चलाउने गाडीका पास पाइने , कांग्रेस वा अरुका गाडीले पास नपाउनेसम्मको हर्कत कम्युनिष्ट सरकारले देखायो ।’
संक्षिंप्त सम्बोधनका क्रममा नेता सिटौलाले वर्तमान सरकारको ३ बर्षको कार्यकाल व्यर्थैमा वितेको टिप्पणी गर्दै भने– म धेरै भन्न चाहन्न प्रधानमन्त्रीज्यूले नै निर्वाचन जितेको क्षेत्रमा उभिएर बोलिरहेको छु भन्नुहोस् यो ३ बर्षमा सरकारले जनतालाई के दियो ? केवल सत्ताकै लागि अन्तरसंघर्षमा उहाँहरु रुमलिइरहनु भएको छ । जनताले कम्युनिष्ट सरकारको असली रुप देखिसके ।’
कम्युनिष्ट सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका नेता सिटौला आफ्नै पार्टीको नेतृत्वप्रति पनि घुमाउरो शैलीमा कडा रुपमा प्रस्तुत भए । उनले पार्टीको १३ औं महाधिवेशनसम्म कुनै समस्या नरहेको तर आसन्न १४ औं महाधिवेशनप्रति भने केन्द्रस्तरमा प्रशस्त आशंकाहरु उब्जिन थालेको संकेत गरे । कार्यतालिकाअनुसार यही फागुनमा हुनुपर्ने १४ औं महाधिवेशन विविध कारणले वैशाखसम्म सर्न सक्ने तर त्यो भन्दा पछि लगिए आगामी २०७९ मा हुने निर्वाचनका लागि समय अपुग हुने सिटौलाको भनाइ छ । वर्तमान सरकारका विरुद्ध १४ औं महाधिवेशनपछि कांग्रेसले नयाँ संघर्षको थालनी गर्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि एकताबद्ध र बलियो कांग्रेसको आवश्यकता रहेको पनि उनको जोड छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै नेता सिटौलाले भने – पार्टी विचार, नीति र सिद्धान्तको आधारमा चल्नुपर्छ । अधिवेशनपछि मेरो र तेरोको भावना छोड्नुस् । हिजोको नशाले देश चल्दैन । चारैतिर कम्युनिष्टको घेरा छ । प्रतिपक्ष कांग्रेसलाई जनताले सडकमा आउन भनिरहेका छन् । त्यसका लागि संघर्षशील र सक्षम कांग्रेस निर्माणको अभियानमा जुट्नु छ ।
१७० जना कांग्रेसमा प्रवेश
कांग्रेस कमल गाउँसमितिका सभापति खगेन भण्डारीको सभापतित्वमा भएको सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका १७० जना नवप्रवेशीहरुलाई नेता सिटौलाले पार्टी सदस्यता प्रदान गरेका थिए भने कांग्रेस झापाका सभापति उद्धव थापा, महासमिति सदस्य देउमान थेवे, टिकाराज सापकोटा र जिल्ला सदस्य हुकुमसिंह राईले अविर लगाएर स्वागत गर्दै पार्टीको झण्डा प्रदान गरेका थिए । कार्यक्रममा पार्टी जिल्ला सभापति थापा, नेता थेवे र क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले शुभकामना मन्तव्य राखेका थिए । कांग्रेस कमलका सहसभापति राजकुमार न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव महेन्द्र बुढाथोकीले गरेका थिए ।