हल्दिबारी , साउन ३१ । हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले चुनावी मुद्धा बनाएर अध्यक्ष रविन्द्रप्रसाद लिङदेनले गाउँपालिकाको समस्यालाई उछालेको दावी गरेका छन् । अर्को निर्वाचनमा उठ्नका लागि लिङदेनले हल्दिबारी गाउँपालिकाको समस्यालाई चुनावी मुद्धा बनाएको गिरीले ठोकुवा गरे ।

हल्दिबारी १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले आज कार्यक्रम गरेर केहीलाई पार्टी प्रवेश गराएको दिन उपाध्यक्ष गिरीले अध्यक्ष लिङदेनको मनसायको बारेमा टिप्पणी गरेका हुन् । प्रतिदिन दैनिकसँग कुरा गर्दै उपाध्यक्ष गिरीले हल्दिबारी गाउँपालिकाको समस्या केही पनि नभएको बताउँदै त्यसलाई चुनावी रंग दिन खोज्दा मिलाउन गाह्रो भएको दावी गरे । ‘हल्दिबारीको समस्या केही पनि होइन’ उनले भने,‘ अर्को चुनावको लागि इस्सु मात्र बनाएका हुन् । ’ जनआधार र जनमत घट्दै गएपछि हतास मनस्थितिबाट ग्रसित भएर अध्यक्ष लिङदेनले असार १० गतेको हर्कत गरेको उनको ठम्याइ छ । आफूले केन्द्र र प्रदेशबाट ल्याएका योजनाहरुको जस लिन नपाएपछि मनभित्र कुण्ठा पालेर अध्यक्ष लिङदेन विचलित भएकोसमेत उनले दावी गरे । रमाइलो चौकबाट बाघडाँडा हुँदै लक्ष्मी माविबाट गरामनी जोड्ने ७ किलोमिटर सडक ,पिपलचौक— हल्दिबारी स्कूल हुँदै गंगाबाँधसम्म जाने बाटो, भेलामुनि लोकतान्त्रिक स्मृति पार्क, तराई मधेस कार्यक्रमअन्तर्गतका ३ वटा सडक आफ्नै पहलमा ल्याएको बताउँदै गिरीले त्यस कामको जस लिन नपाउँदा लिङदेन आफूसँग टाढिएको खुलासा गरे । उनले गाउँपालिका अध्यक्षका दाजु संघीय सांसद राजेन्द्र लिङदेनले नियम र प्रक्रिया मिचेर मनोमानी ढंगले सोलारको बजेट खर्च गरेपछि त्यस कार्यले पनि आफूहरुबीच दूरी बढाएको बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्