भद्रपुर , साउन ५ । दशवटा वडा रहेको भद्रपुर नगरक्षेत्रका अधिकांस सडकका नाली माटो र झाडीले पुर्दा पानीको निकास रोकिने गरेको छ ।

अधिकांस भित्री सडक सरसफाईको अभावले सडक हो कि घाँसे मैदान भन्ने अवस्था आउँदा समेत नगरपालिकाको ध्यान पुग्न सकेको छैन ।
प्रधानमन्त्री रोजगार कार्यक्रम सुरू हुनु अगाडि रकम छुटयाएर नगर क्षेत्रका सडक नाली सफाइ गरिन्थ्यो । केही वर्षयता नाली सफाईका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम जोडिदासमेत नगर क्षेत्रका सडकका नाली माटो र झाडीले पुरिएर पानीको निकास रोकिने गरेको छ ।
वडागत रूपमा बाँडेर रोजगार कार्यक्रममा नियुक्त गरिएका कामदारले गनेरै ९० दिन बिताएका थिए । सडक नालीमा पसेको माटो जस्ताको त्यस्तै रहँदा वर्षातको पानी सडकबाटै बग्दा सडक भत्कने अवस्था आएको छ । कालोपत्रे सडक किनारमा पलाएको झाडी नफाँडिएका कारण सडक हो कि घाँसे मैदान अलमलिनु पर्ने अवस्था छ ।
आर्थिक वर्षको अन्तिम तीन महिनाका लागि नियुक्ति पाएका प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिकले स्थानीय तहको विकासका लागि कुनै महत्वपूर्ण योगदान दिन नसकेको स्थानीयको भनाइ छ । भद्रपुर ८ का बासिन्दा तथा अग्रज पत्रकार नकुल काजी पनि आफ्नो टोल प्रवेश गर्ने सडक झारले छोपेपछि झार सफाइ गर्न नगरपालिकासित अनुरोध गरे पनि सुनुवाई नहुँदा बिहान बेलुका सर्पको डर पालेर हिड्नु पर्ने बाध्यता रहेको सुनाउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्