झापा , भदौ ७ । ‘ल्याउँदा माइखोलाको बगरमा ल्याउनुभयो, माइखोलाकै बगरमा छाडेर जानुभयो’ झापा शिवसताक्षी–१० की बाढीबाट विस्थापित तारा शेर्माले जीवनको कारुणिक पाटो खोतल्दै भनिन्, ‘श्रीमान भएको भए सहज हुन्थ्यो, अहिले एक्लै कसरी बालबच्चा स्याहार्नु, कसरी घरव्यवहार चलाउनु, कसको अगाडि हात जोड्न जानु?’

ताराको घर शिलान्यास गरिँदै

भएको एउटा छाप्रो पनि माइखोलाको भेलले गत असार १२ मा बगायो। अनि उनको बसाई पनि त्रिपालमुनि पुग्यो। दुई वर्षको दूधेबालक काखमा च्यापेर जीवन खोजिरहेकी तारालाई बालबच्चालाई दुईछाक जुटाउनै समस्या छ।
दुई वर्षअघि पति शेरबहादुरको निधन भयो। त्यसबेला पिठ्युँमा च्यापेका सन्दीप ६ महिना मात्रका थिए। ताराका पाँच सन्तानमध्ये सन्दीप र ७० सालमा जन्मेकी छोरी साथमा छिन्। अरु तीन सन्तान मामा र ठूलीआमाहरुले पालेका छन्। प्यारालाइसिस भएर ६ महिना थलिएका शेरबहादुरको अवसानपछि ताराले मागेर जीवन चलाइरहेकी छिन्।
‘घरखर्च चलाउने उपाय नभएपछि शनिबार र मंगलबार माइखोला बगरमा माग्न जान्छु,’ आफ्नो विलौना सुनाउँदै ताराले भनिन्, ‘एक÷दुई मुट्ठी चाम दिन्छन्, त्यही ल्याएर म बच्चालाई खुवाउँछु, हात थापेरै जीवन चलेको छ।’
सधैँ पीडामात्रै भोग्नुपर्दैन। कहिलेकाहीँ जीवनले कोल्टे पनि फेर्छ। दुई वर्षको कष्टकर पीडा भोगेकी ताराले आफ्नो जीवन फेरिएला र आफ्नै घरमा बस्न पाउँला भन्ने कल्पनासम्म गरेकी थिइनन्। कसैले दिएको एक मुठी चामलमै आफ्नो र बालबच्चाको भोक मेट्ने ताराले अब आफ्नै घर पाउने भएकी छन्।

घर निर्माण शुरु गरिँदै

माग्न जाँदा सहजै सबैले हात दिँदैनन्। कतिको त हप्की पनि खानुपर्छ। अपहेलना र पीडाको जीवन भोग्दै आएकी ताराले अब आफ्नै घर पाउने भएकी छन्। आउँदो तिहारसम्म स्नानघर र शौचालयसहितको तीन कोठे घर पाउने भएकी हुन्।
शुक्रबार उनको घरको जग हालिएको छ। तराई मधेश समृद्ध कार्यक्रमअन्तर्गत जनता आवास योजनास्थल शिवसताक्षी–११ मा उनको घर बन्ने भएको हो। ‘उनलाई मेची अभियानले घर बनाइदिन लागेको हो। करिब सात लाख खर्चेर निर्माण हुने घर, तिहारमै तारालाई हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अघि बढाएका छौं’ अभियानका संयोजक विजय डालमियाँले भने। नगरप्रमुख चन्द्रकुमार शेर्माले अति विपन्न र निरीह महिला तथा उनका अबोध छोराछोरीले आफ्नै घरमा बस्न पाउने पक्का भएको बताए।
‘नगरले अति विपन्न नागरिकको बासका लागि जनता आवास कार्यक्रमअन्तर्गत ११ घर निर्माण गरिसकेको छ, ताराको घर पनि यहीँ बन्छ’, उनले भने। जनता आवासका लागि स्थानीय फडिनाथ दुलालले १० कट्ठा जग्गा निःशुलक उपलब्ध गराएको र बाँकी १० कट्ठा पनि निःशुल्क दिलाउने प्रक्रिया भइरहेको नगरपालिकाले जनाएको छ। घर बन्न सुरु भएपछि ताराको जीवनमा केही सहजता आउने शिवसताक्षी–६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले बताए।
साविक सतासीधाम–८ माइधारमा पति शेरबहादुरसँगै २०६६ सामा तारा बसाइँ सरी आएकी थिइन्। मोरङको राजघाटमा उनीहरु पाँचथरको माङजाबुङबाट आएका थिए। सतासीधामको डुंडामारीको रुपमा एउटा घरमा उनीहरु कामदारका रुपमा दुई वर्ष बसेका थिए। पहिलो सन्तान जन्मेपछि शेर्मा परिवार डुँडाबारीबाट कनकाइ खोलाको बगरमा सरेका थिए। स्थानीयसँग एक लाख रुपैयाँमा त्यसबेला शेरबहादुरले १० कट्ठा जग्गा किनेका थिए। त्यही जग्गामा छाप्रो बनाएर शर्मा परिवारले आफ्नो बसाइँ सुरु गरेका थिए। गत असारको भेलले त्यही छाप्रो पनि बगाएपछि उनी पालमुनि पुगेकी हुन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्