झापा , भदौ ७ । झापामा आज समुदायका ६ सहित ८जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा ४ महिला र ४ पुरुष रहेका छन् ।

कमल गाउँपालिकामा ३ , बिर्तामोड नगरपालिकामा २ , गौरादह नगरपालिकामा २ र जिल्ला प्रहरी कार्यालयमा कार्यरत एकजनामा संक्रमण पुष्टि भएको हो । कमल गाउँपालिका ३ केर्खा बजारका एकजना औषधी व्यवसायी , एकजना मोबाइल पसल संचालक र अर्की कोरोना संक्रमित परिवारका सदस्य रहेका छन् । यसअघि कोरोना संक्रमित कमल ३ का ८३ वर्षिय बृद्धको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दा आज थप तीन जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरुमा ती संक्रमित बृद्धकी २० वर्षिया नातिनी पनि रहेकी छन् । त्यस्तै तोपगाछी फार्मेसीका संचालकलाई पनि संक्रमण देखिएको छ । सो फार्मेसी केर्खा बजारकै चलेको र बढी भीडभाड हुने औषधी पसल भएको बताइएको छ । त्यस्तै केखौ बजारकै एकजना मोबाइल पसल संचालकलाई पनि संक्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताईन् । उनले साउन २६ गते ३० जनाको कन्ट्याक्ट ट्रसिङ गर्दा समुदायका तीनजनाको रिपोर्ट पोजिटिभ आएको जानकारी दिइन् । त्यस्तै बिर्तामोड नगरपालिका ५ का समुदायका दुई महिलामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा एकै परिवारका ६८ वर्षिया हजुरआमा र १८ वर्षिया नातिनी रहेका छन् । देवी मावि नजिक घर भएर रत्न सुपर मार्केटमा सुन पसल भएका ब्यक्तिको परिवारका सदस्यहरुलाई संक्रमण भएको बिर्तामोड ५ का वडाध्यक्ष राजेन्द्र लिङदेनले बताए । ट्राभल हिस्ट्री नभएका ती महिलालाई कसरी संक्रमण भयो भन्ने विषयमा खोजी भइरहेको नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए । संक्रमण देखिएपछि बिर्तामोडको रत्न सुपर मार्केट सिल गरिएको छ । त्यस्तै गौरादहमा विद्युत प्राधिकरणका एक कर्मचारीसहित दुई जनामा संक्रमण देखिएको छ । नेपाल विद्युत प्राधिकरण गौरादह शाखामा कार्यरत २५ वर्षिय कर्मचारीमा संक्रमण देखिएको हो । गौरादह ३ मा डेरा गरी बस्ने ती कर्मचारी केही महिनाअघि कचनकवलबाट गौरादह गएका हुन् । त्यस्तै कृषि क्याम्पस क्वारेन्टाइनमा बस्दै आएका गौरादह ९ का २३ वर्षिय युवकमा कारोना देखिएको छ । उनी भारतबाट फर्केर सो क्वारेन्टाइनमा बसेका थिए । त्यस्तै जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत एक महिला प्रहरीमा संक्रमण देखिएको छ । उनी साउन २६ गते सरुवा भएर आएकी थिइन् । अन्यत्रबाट आएपछि उनलाई ड्युटी गर्न नदिई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए । उनले पाँचजना प्रहरीको पिसिआर टेष्ट गर्दा एकजनाको रिपोर्ट पोजिटिभ आएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्