झापा, भदौ ८ । सरकारले दैनिक ५ सय यात्रुमात्र ल्याउने गरी नियमित व्यावासायिक उडान भदौ १६ बाट खोल्ने निर्णय गरेको छ । सरकारको उक्त निर्णय कार्यान्वयन गर्न उडान तालिका बनाउने र स्वीकृत गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले तयारी गरिरहेको छ । यात्रु संख्यामा सिमितता तथा सिमित उडान एवं उडान भर्ने विमान कम्पनीको चाप र उडान सुरक्षाको उडान मापदण्डलगायतका कार्ययोजना बनाउनुपर्ने भएकाले मन्त्रालयलाई समय लाग्ने देखिएको छ । यसरी हेर्दा दैनिक २ उडानमात्र हुने भएको छ । सरकारले दैनिक उडानबाट ५ सयमात्र उडान गर्ने निर्णय गरेसँगै सरोकारवाला मन्त्रालयलाई व्यवस्थापनको चटारो थपिएको हो । सरकारले चार्टर नियमित उडानबाट दैनिक नेपाल ल्याउने यात्रुको संख्या ५ सयमा सीमित गरेर होटल क्वारेन्टाइनको व्यवस्थापन गर्नुपर्ने छ ।

हाल नेपालमा २६ अन्तर्राष्ट्रिय विमान र आन्तरिकतर्फ २ विमान कम्पनीले उडानका लागि आवेदन दिएका छन् । दुई ठूला विमानको कुल क्षमता २८० गर्दा पनि ५ सय ६० हुन आउँछ तर सरकारले ५ सयमा नै सीमित राख्नुपर्ने भएकाले समस्या देखिएको छ । आइतबार भएको छलफलमा उडान अवतरणको मापदण्डमा रहेर तालिका बनाउन विषयमा छलफल केन्द्रित भएको मन्त्रालयका सहसचिव सुरेश अचार्यले बताए । उनले भने, “सरकारको निर्देशनअनुसार उडान सहजीकरण गर्ने विषयमा सरोकारवाला निकायसँग छलफल भएको छ । आज भएको छलफलमा सैद्धान्तिक र व्यावहारिक कठिनाईका विषयमा केन्द्रित भएको छ ।” उनका अनुसार सोमबार बस्ने बैठकले के कसरी कुन मितिबाट उद्धार उडान सुरु गर्ने भन्ने तय गर्ने छ । साथै नियमित उडानको रणनीतिक योजना पनि बनाउने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्