देश हाक्ने श्रीमान् मन्त्रीहरु र नेताज्यूहरु, होटल क्वारेन्टीन भनेको के हो ? दीनदुःखी, गरिब, सर्वसाधारण नेपाली दाजुभाइ दिदीबहिनीहरु खाडी मुलुकहरुमा कम्तीमा ४०–४५ डिग्रीको गर्मीमा आफ्नो बालबच्चाहरुलाई १–२ छाक खान पु¥याउँछु की भनेर गएका छन् । आज विश्व महामारी कोरोनाको कारणले विदेशमा खान, लगाउन र बस्नको लागि ठाउँ नपाएर अझ कोही कोहीले त दैनिक फाइन समेत तिरेर अलपत्र परिरहेको र विदेशमा ठाउँठाउँमा नेपालीहरु मरिरहेको बेला, मानवता, नैतिक जिम्मेवारी र कुनै पनि पार्टीको मूल सिद्धान्तलाई मनन गरेर उनीहरुलाई उद्धार गर्नुको सट्टा अझ भागवण्डा नमिलेर नेपाली जनतालाई उद्धार गर्न दुबई पठाएको विमान रित्तै नेपालको विमानस्थलमा अवतरण गराउनु कति न्यायोचित कुरा हो ? खाली विमान दुबईबाट नेपाल विमानस्थलमा अवतरण गराउँदा विमानको हवाई इन्धन, विमान कर्मचारीहरुको त्यो दिनको तलब नेपाली जनताको खर्च भएको हो की देश हाँक्ने हस्ती महानुभावहरुको हो ? यसको हिसाव एकदिन जेनतेन, दुःख सास्ती भोगेर विदेशबाट फर्केका नेपालीहरुले पक्कै खोज्छन् र त्यो दिनको नेपाली दाजुभाइ, दिदीबहिनीको नरसिंह रुपी अवतारलाई थाम्ने र थेग्ने विकल्पहरु श्रीमान्हरुले तयार गर्नु भएको छ की छैन ? विकल्पहरु तयार पार्नु भएको छैन भने छिटोभन्दा छिटो तयार पारेर बस्नु राम्रो हुन्थ्यो कि ? त्यसै त विदेशमा खान, लाउन र बस्न नपाएर अलपत्र परेका नेपालीहरु अझ होटल क्वारेन्टीनमा बस्नु पर्छ भन्दा सुन्न पनि अचम्म लाग्ने कुरा हो ।

सुनिन्छ ,कोरोना महामारीको उपचारमा १३ अर्व रकम सिद्धियो रे ? यत्रो खर्च भएको रकमबाट थोरै रकम खर्च गरेको भए विदेशबाट आउने नेपालीहरुको लागि प्रशस्त रुपमा क्वारेन्टीनहरु बन्थ्यो होला नि ? कि यो रकम पनि भागवण्डामा नै सिद्धियो ? चर्को विमान टिकट, हम्मेहम्मे परेको नेपाली दाजुभाइ, दिदीबहिनीहरुले होटल क्वारेन्टीनमा बस्दा सस्तोमा पनि कम्तीमा दैनिक ९९० देखि ९००० रुपैयाँसम्म खर्च कसरी पूर्ति गर्छन् ? यी कुराहरु देश हाँक्ने हाम्रा हस्तीहरुलाई थाहा पक्कै होला । कि थाहा पाईपाई पनि बुझ पचाउनु भएको हो ? कि होटल क्वारेन्टीनमा पनि होटलबालाहरुसंग मिलेर, भागबण्डा लगाएर सोझासीधा नेपालीहरुलाई दुःखमाथि अझ दुःख दिनु भएको हो ? नेपाली जनतालाई बुझ्न साह्रै गाह्रो प¥यो । अन्त्यमा, जुनसुकै देशको देशवासीहरु जस्तोसुकै आपत र अप्ठ्यारोमा परे पनि आफ्नै देशमा फर्किन खोज्छन् र जसरी भएपनि आफ्नै देशमा फर्कन्छन् पनि । देश हाँक्ने हाम्रा नेपाल आमाका महान सपुतहरु, वैदेशिक रोजगारको लागि वैदेशिक रोजगार कल्याणकारी कोषमा तिरेर गएको र जम्मा भएको ६ अर्व रकमले आपतमा परेका नेपालीहरुको उद्धार गर्ने हो की, यो पनि भागवण्डा गर्दागर्दै रितियो ? आखिर भागवण्डा कसको लागि गर्नु भएको ? छोरा–छोरी नाती–पनाती, खनाती, गाई–भैंसी, कुकुर–बिरालो, चरा–चुरुङ्गी…………………कसको लागि ? यो देशमा मुक्तिनाथ र पशुपतिनाथले नेपाल आमाको सपुतहरुलाई प्रत्यक्ष निगरानीमा राख्नु भएको छ भन्ने कुरा देश हाँक्ने हस्तीहरुले बिर्सनु भयो की ? साथीहरु यो लेखमा मैले जानी नजानी धेरै प्रश्नवाचक चिन्हहरु (?)राखेकोमा क्षमाप्रार्थी छु । तर नेपालीहरुको मनमा यस्ता धेरै प्रश्न चिन्हहरु छन् भन्ने कुरामा म ढुक्क छु । जुनसुकै पार्टीको लक्ष्य र उद्देश्य भनेको देश विकास र देशमा बस्ने मानिसहरुलाई दुःखबाट मुक्त दिलाउनु नै हो । तसर्थ अवका दिनहरुमा हामी नेपाली जनताले गम्भीर रुपमा सोच, विचार र सही मूल्यांकन गरेनौं भने यो त सुरुवात मात्र हो जस्तो मलाई लागेको छ । अझ दर्दनाक दिनहरु नआउँला जस्तो लाग्दैन । मातृभूमि नेपाल आमाले देशवासी सन्तानको लागि जति रुनु भयो भयो , अव हामी नेपाल आमाका सन्तानहरु सोच, विचार र सही मूल्यांकन गरी अवका दिनहरुमा नेपाल आमालाई रुवाउने काम कहिल्यै नगरौं । नत्र भने नेपाल मातृभूमि आमाले हामीलाई सराप्ने छिन् । जय नेपाल
हालः म्याग्दी, बेनी

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्