झापा, भदौ ८ । रासायनिक मलको हाहाकार भइरहेको बेलामा साल्ट ट्रेडिङ विराटनगरले केही हदसम्म युरिया मलको अभावलाई टार्ने भएको छ । सोमबारदेखि पूर्व क्षेत्रका १६ जिल्लामा २ सय ६० कृषि सहकारीमार्फत रासायनिक मल युरिया वितरण गर्ने साल्ट ट्रेडिङको तयारी छ ।
कार्यालयमा ३० मेट्रिक टन युरिया प्राप्त भएको र २ दिनभित्र ५ हजार ६ सय मेट्रिक टन युरिया कार्यालयसम्म आइपुग्ने प्रमुख राधेश्याम चौधरीले जानकारी दिए । उनका अनुसार उच्च गुणस्तरको उक्त युरिया मल प्रतिबोरा मूल्य ७ सय कायम भएको छ भने सहकारीले प्रति बोरामा १२ रुपैयाँ ५० पैसा छुट पाउने व्यवस्था गरिएको छ ।

विगतदेखि नुन, चिनी र रासायनिक मल किसानलाई उपलब्ध गराउँदै आएको यो कार्यालयले केही दिन पहिले ६ हजार मेट्रिक टन युरिया मल किसानलाई उपलब्ध गराइसकेको कार्यालय प्रमुख चौधरीले जानकारी दिए । साल्ट ट्रेडिङले आफ्ना मातहतका झापाको बिर्तामोड, सिरहाको लहान र सप्तरीको राजविराज तथा आफनै कार्यालयबाट मोरङ, सुनसरी, धनकुटा, भोजपुर, सङ्खुवासभा र तेह्रथुम जिल्लाका किसानलाई मल उपलब्ध गराउँदै आएको छ ।
विगत २ दशकको अवधिमा यसै वर्ष धान रोपाइँ पूर्वी क्षेत्रमा ९५ प्रतिशतभन्दा बढी अर्थात ३ लाख २२ हजारभन्दा बढी हेक्टर जमिनमा किसानले धान लगाएका छन् । धान रोपेको १३ दिनपछि किसानले खेतमा युरिया हाल्ने गर्दछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्