कमल , भाद्र ९ । दमकसँगै जोडिएको झापाको कमल गाउँपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चार दिनअघि संक्रमण देखिएको व्यक्तिको सम्पर्कमा रहेका २१ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणमा पठाइएकोमा आज थप २ जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
संक्रमण देखिनेमा कमल ३ की ४१ वर्षीया महिला र वडा नम्बर ६ का ६० वर्षीय पुरुष रहेका छन् ।
योसँगै कमलमा कोरोना संक्रमितको संख्या १० पुगेको छ । यसअघि तीन जना भने निको भएर घर फर्किएका छन् । कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेका अनुसार संक्रमण पुष्टि भएका दुबै जनालाई शहीद धर्मभक्त माविको आइसोलेसनमा राखिएको छ ।
यसैबीच दमकका १८१ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । पिसिआर जाँचका लागि पठाइएका २०९ मध्ये १८१ जनाको रिपोर्ट नेगेटिभ आएको दमक नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।पछिल्लो एक सातायता स्वाब परीक्षण गरिएका उनीहरुको रिपोर्ट आज आएको र तीमध्ये २८ जनाको रिपोर्ट भने होल्डिङ रहेको बताइको छ । पछिल्ला दिन संक्रमण देखिएका बिद्युत प्राधिकरण,जीवन विकास, टेलिकम , मालपोत कार्यालय र क्वारेन्टाइनमा बस्दै आएकाहरुको नमुना परीक्षण गरिएको थियो ।
त्यस्तै कोभिड अस्पताल तथा विभिन्न होम आइसोलेसनमा उपचाररत २२ संक्रमितको पनि नमुना पठाएकोमा ९ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्