दमक , भदौ १२ । समुदायमा कोरोना संक्रमण फैलिदै गएको झापाको दमकमा जारी निषेधाज्ञालाई फेरि एक साता थप गरिएको छ ।

आज नगरपालिकामा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले गत साउन ३२ गतेदेखि जारी रहेको निषेधाज्ञालाई केही खुकलो बनाउँदै भदौ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालयमा सिफारिस गर्ने निर्णय भएको नगर उपप्रमुख समेत रहेकी प्रवक्ता गीता अधिकारीले बताइन् । त्यस अवधिमा अत्यावश्यक सेवाबाहेक दैनिक उपभोग्य सामग्री खरिद ,विक्रीका लागि दैनिक विहान ७ वजेदेखि १२ वजेसम्म पसल तथा व्यवसाय स्वास्थ्य सुरक्षा पालना गरी सञ्चालन गर्न पाउने निर्णय गरिएको छ ।
त्यस्तै, दमक ६ स्थित नयाँ सव्जी वजार खोल्न पूर्णरुपमा रोक लगाईएको छ भने दैनिक उपभोग्यबाहेकका अन्य पसल भने सञ्चालन गर्न नपाउने उल्लेख छ । दमकमा दुई सातादेखि संक्रमण तीव्र फैलिएपछि निषेधाज्ञा लगाईएको छ ।
२१४० जनाको पिसिआर परीक्षण
हालसम्म दमकमा ६१२ महिला र १५२८ पुरुष गरी कुल २१४० जनाको पिसिआर परीक्षण गरिएको छ । परीक्षणमध्ये ८१ जनामा संक्रमण देखिएको र ४१ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
होटल क्वारेन्टाइनमा १३ र विज्ञान भवन पार्क महिला क्वारेन्टाइनमा ५ जना रहेका छन् भने दमकको दाहाल प्रतिष्ठानको आइसोलेसनमा १०, होम आइसोलेसनमा १२,गोठगाउँको पूर्वाञ्चल विश्व विद्यालयको कोभिड अस्पतालमा ५ ,विराटनगरस्थित एसियाटिक होटल आइसोलेसनमा ६ ,विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ र मेची अस्पताल भद्रपुरमा ५ गरी ४० जना उपचाररत रहेका छन् ।
यसैगरी,भदौ ९ गते २ सय जनाको पिसिआर परीक्षण धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाएकोमा त्यसमध्ये १७६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । आज नै दमकको नविल बैकले २ सय थान र राधा माधव सेवा समितिले समेत २ सय थान भिटिएम किट उपलव्ध गराएको प्रवक्ता अधिकारीले जानकारी दिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्