झापा भदौ, १४ । कोरोना भाइरस नियन्त्रणका लागि देशका विभिन्न जिल्लामा गरिएको निषेधाज्ञासँगै औद्योगिक उत्पादन ठप्प भएको छ । उद्योग सञ्चालनका लागि स्थानीय प्रशासनले सहजीकरण नगरिदिँदा उद्योग व्यवसाय बन्द हुन गई उत्पादन ठप्प भएको हो । तत्काल उत्पादन सुचारु गर्न सरकारले सहयोग नगर्ने हो भने बजारमा उपभोग्य वस्तुकै अभाव हुने उद्योगी व्यवसायीहरूको भनाइ छ । काठमाडौं उपत्यकासहित वीरगन्ज, बारा, भैरहवा, विराटनगरलगायतका औद्योगिक उत्पादन हुने अधिकांश क्षेत्रमा यतिबेला निषेधाज्ञा लागू भएको अवस्था छ । निषेधाज्ञाका बेला निश्चित शर्त पूरा गरेर उद्योग सञ्चालन गर्नसकिने भनिए पनि लागू हुन नसकेको व्यवसायीहरूको भनाइ छ ।


पूर्वी नेपालका व्यवसायीले महामारीको कोरोना महामारीको वर्तमान अवस्थामा उत्पादन प्रक्रियालाई निरन्तरता दिलाउन र आपूर्ति व्यवस्था सहज बनाउन माग गरेका छन् । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा र उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले संयुक्त विज्ञप्तिनै जारी गरेर उत्पादन र आपूर्तिलाई सहज बनाउन आग्रह गरेका छन् ।
बागमती प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष दिनेश श्रेष्ठ उद्योगी व्यवसायीसँगै उपभोक्ताको समस्या राज्यले बेहोर्नुपर्ने बताउँदै निषेशाज्ञाले उद्योगहरू सञ्चालन गर्न कठिनाई भएको बताउँछन । ‘सधैँ लकडाउन वा निषेधाज्ञा गरेर मात्र हुँदैन, प्रवेशद्वार सिल गरी सीमामै आइसोलेसन र क्वारेन्टाइन बनाइनु पर्छ ।’ उनी भन्छन् ‘हाम्रो जस्तो सानो देश, सरल नागरिक भएकाले कोरोना नियन्त्रणका लागि अन्य विकल्प सोच्नुपर्छ, लकडाउन र निषेधाज्ञा मात्र भनेर हुँदैन ।’
लकडाउन, सटडाउन, बन्द, निषेधाज्ञा जे भने पनि सरकारी कर्मचारीको घरमै बसिरहेर तलब पाकिरहने तर व्यवसायीलाई भने बैंकले ब्याज असुलिरहने भएकाले कति घाटा सहिरहने भन्ने प्रश्न गर्दै उनी भन्छन्, ‘संक्रमित संख्या नघट्ने, रोगी र मृत्यु दर बढिरहने हो भने यस्तो बन्दको बन्द हुनु पर्छ । बेठिक आदेश दिनेले हाम्रो नोक्सानको क्षतिपूर्ति कसले दिन्छ ?’ सरकारले निषेधाज्ञा फिर्ता नलिने अथवा व्यवसायको वातावरण सहज नबनाउने हो भने आन्दोलन गर्नुपर्ने भन्दै काठमाडौंका उद्योगी व्यवसायीहरूले यसबारे छलफल सुरु गरिसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्