झापा , भदौ १५ । कोरोना संक्रमणको हटस्पट बन्दै गएको झापाको कमल गाउँपालिकामा समुदायका थप चार जना आज संक्रमित भएका छन् ।

संक्रमित हुनेहरुमा दुई पुरुष र दुई महिला रहेका छन् । वडा नं ३ र वडा नं ५ का एक–एक पुरुष र वडा नं ६ का दुई महिलामा संक्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष मेनुका काफलेले बताइन् । वडा नं ३ मा मात्र समुदायमा संक्रमण देखिएकोमा वडा नं ५ र ६ मा पनि त्यो फैलिदै गएको उनले बताइन् । कमलमा हालसम्म २४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १९ जना समुदायका रहेका छन् । कोरोनाकै कारण एकजनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा आज ५६ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमा सुनसरीमा २६ जना छन् भने मोरंगमा १७, संखुवासभामा ९ र झापामा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा पछिल्लो २४ घण्टामा ६ महिला र १४ पुरुषमा संक्रमण पुष्टि भएको छ । कोशी गाउँपालिकामा ३ पुरुष, देवानगञ्ज र इनरुवामा १–१ पुरुष, इटहरीमा १ महिलामा संक्रमण देखिएको छ । यस्तै, मोरङको विराटनगरमा ५ महिला र ६ पुरुष, लेटाङमा १ महिला र ४ पुरुष र बुढीगंगामा १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संखुवासभाको खाँदबारीका १ महिला र ८ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ३६७ पुगेको छ ।
प्रदेश १ बाट आज ५४ जना डिस्चार्ज भएका छन् । वी.जेनरल आईसोलेसन केन्द्र, हरिनगर सुनसरीबाट ३२, इलाम अस्पताल आईसोलेसन केन्द्र, इलामबाट १८ र होम आईसोलेसनबाट ४ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म १ हजार ५८९ जना कोरोनामुक्त भएका छन् । प्रदेश १ मा आज १ हजार ३९२ जनाको कोरोना परीक्षण गरिएएको छ । परीक्षण गरिएकामध्ये १७ महिला र ३९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा हालसम्म ८८ हजार ९९० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्