बिर्तामोड , भदौ २० । बिर्तामोड—गरामनी सडकखण्ड निर्माणका लागि आशिष प्रेरा जेभी कम्पनीले २०७५ असार २४ गते ठेक्का पाए । ठेक्काअनुसार २०७६ पुष २४ सम्म काम सम्पन्न गर्नुपर्ने संझौता थियो । त्यस अवधिमा राम्ररी काम नै शुरु नगरेका ठेकेदारले २०७७ साउन २९ गतेसम्म म्याद थप गर्न लगाए । थपिएको ७ महिनाको अवधिमा पनि काम पूरा गर्न नसकेका ठेकेदारले फेरि म्याद थपका लागि निवेदन दिएका छन् ।

पूर्वाञ्चल सडक डिभिजन कार्यालय दमकमा म्याद थपका लागि ठेकेदारले शुक्रबार निवेदन दिएका हुन् । ठेकेदार कम्पनीका तर्फबाट प्रतिनिधि केदार गिरीले फेरि ६ महिना म्याद थप्न निवेदन दिएका हुन् । यसअघि संझौताभित्र काम सम्पन्न नहुँदा सडक विभागले सार्वजनिक खरिद ऐन नियमावलीको नवौं संशोधनबमोजिम ७ महिनाको म्याद थप गरेको थियो ।फेरि पनि म्याद थपका लागि निवेदन आएको पूर्वाञ्चल सडक डिभिजन कार्यालय दमकका इन्जिनियर अनुप साउदेनले बताए । गत असार २९ गतेको मन्त्रिपरिषद बैठकले लकडाउनका कारण प्रभावित भएका विकास निर्माणका योजनाको म्याद ६ महिना थप्ने निर्णय गरेको थियो । त्यही निर्णयलाई टेकेर अन्तिम पटक ६ महिनाको म्याद थप्न लागिएको इन्जिनियर साउदेनले बताए ।

काम शुरु भएको मितिदेखि हालसम्म २ वर्ष २ महिना बितिसकेको छ । अझै धेरै काम गर्न बाँकी छ । यद्यपि ठेकेदारले ७० प्रतिशत काम सम्पन्न भइसकेको दावी गरेका छन् । ‘कामले गति लिएको छ , अहिलेसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको छ’ गिरीले भने,‘ बेस हाल्न शुरु भइसक्यो अब काम चाँडै सम्पन्न हुन्छ ।’ तर, ठेक्का लागेको ४ किलोमिटर सडकखण्डको कतिपय ठाउँमा अझै ढल बनिसकेको छैन । बिर्ताबजारको दुर्गा मन्दिर , बिर्तामोड नगरपालिका , एक किलोमिटर , विद्युत प्राधिकरण, बिर्तामोडको मुक्ति चौकलगायतका स्थानमा ढल निर्माण भइसकेको छैन । त्यस्तै डिभाइडर निर्माणको काम पनि बाँकी नै छ । त्यसबाट अझै समय लाग्ने देखिन्छ । सबैतिरबाट सहयोग पाएको खण्डमा र मौसमले साथ दिएमा थपिएको म्यादमा काम पूरा गर्ने गिरीले दावी गरे । उनले अरुतिरबाट सहयोग नपाएको गुनासो गरे । ठाउँ खाली नगरिदिँदा ढल निर्माण पूरा गर्न नसकिएको बताउँदै गिरीले विद्युत प्राधिकरणले पोल नसारिदिएको , पहिलाका ठेकेदार राजकिशोर गुप्ताले एक किलोमिटरमा बिग्रिएर थन्किएको ग्रेडर बाटोमै छोडेको , बिर्ताबजारको दुर्गा मन्दिर नसारिएकोजस्ता अप्ठ्याराले काममा सहजता नभएको जानकारी दिए ।‘ विजुलीको पोल सार्न प्राधिकरणलाई भनेको निकै भइसक्यो वास्ता छैन’ उनले भने ,‘ झन् त्यो बाटोमा राखेको ग्रेडर हटाउन भनेको त कति भयो कति भयो ।’ समयमा काम पूरा नहुँदा सदरमुकाम जाने सो सडकमा वर्षौदेखि यात्रुहरुले कष्ट झेल्नु परिरहेको छ । वर्षौदेखि अलपत्र पर्दा सडक पूर्णरुपमा निर्माण सम्पन्न हुने कुरामा अझै आशंका गर्छन् सर्वसाधारण । बिर्तामोडको मुक्ति चौकदेखि गरामनी बजारछेउसम्मको ४ किलोमिटर सडकखण्ड चार लेनको निर्माण गर्नका लागि आशिष प्रेरा जेभी कम्पनीले करसहित २७ करोड ९ लाख ७० हजार रुपैयाँमा ठेक्का पाएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्