झापा , भदौ २१ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत झापा कनकाईकी कोरोना संक्रमित एक महिलाको निधन भएको छ ।

झापाको कन्काई नगरपालिका ३ सुरुङ्गाकी ४५ बर्षीया संक्रमित महिलाको निधन भएको हो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार आज बिहान १० बजेर ४५ मिनेटमा उनको मृत्यु भएको हो । मेची अस्पतालबाट रेफर भइ गएकी उनी भदौ १८ गते प्रतिष्ठानमा भर्ना भएकी थिइन् । सोही दिन पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।
मृतकलाई ७ दिनदेखि कब्जियत, कमजोरी भएको र विगत २ दिनदेखि ज्वरो, श्वासप्रश्वासमा कठिनाइ भएको साथै परिक्षण गर्दा निमोनिया पनि देखिएको प्रवक्ता डा.सापकोटाले जानकारी दिए । प्रतिष्ठानमा आइपुग्दा अवस्था गम्भीर भएर भेन्टिलेटरमा राखेर उपचार गरिएको पनि प्रवक्ता डा.सापकोटाले बताए । उनलाई मधुमेहको दीर्घ रोग भएको पनि प्रतिष्ठानले जनाएको छ । मृतक महिलाका श्रीमान कोरियामा रहेको र उनको परिवारका सदस्यहरुलाई क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको कनकाइ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र न्यौपानेले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्