झापा , भदौ २१ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु भएकी कनकाई नगरपालिकाकी महिलाको शव व्यवस्थापन गरिने भएको छ ।
सुरुङ्गा सामुदायिक वनमा शवको व्यवस्थापन गरिने भएको हो । जसको व्यवस्थापन नेपाली सेनालाई दिइएको कनकाई नगरपालिकाका स्वास्थ्य शाखाका लक्ष्मी अधिकारीले बताए ।
कन्काई नगरपालिका ३ सुरुङ्गाकी ४५ बर्षीया संक्रमित महिलाको मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार आज बिहान १० बजेर ४५ मिनेटमा उनको मृत्यु भएको हो । पहिला अन्जली हस्पिटल बिर्तामोड आएकी र त्यसपछि मेची अस्पताल जाँदा त्यहाँबाट रेफर भई उनी भदौ १८ गते प्रतिष्ठानमा भर्ना भएकी थिइन् । सोही दिन पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।
मृतकलाई ७ दिनदेखि कब्जियत, कमजोरी भएको र विगत २ दिनदेखि ज्वरो, श्वासप्रश्वासमा कठिनाइ भएको साथै परिक्षण गर्दा निमोनिया पनि देखिएको प्रवक्ता डा.सापकोटाले जानकारी दिए । प्रतिष्ठानमा आइपुग्दा अवस्था गम्भीर भएर भेन्टिलेटरमा राखेर उपचार गरिएको पनि प्रवक्ता डा.सापकोटाले बताए । उनलाई मधुमेहको दीर्घ रोग भएको पनि प्रतिष्ठानले जनाएको छ । मृतक महिलाका श्रीमान कोरियामा र घरमा सानो छोरा रहेको कनकाइ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र न्यौपानेले बताए ।यसअघि झापामा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको थियो