झापा, भदौ २२ । चौध वर्ष अघिदेखि हरियो चियापत्ती टिपिरहेकी उनको कर्मशील यात्रा अहिले पनि जारी छ । उनी अर्थात झापा भद्रपुर नगरपालिका ३ हात्तीमाराकी गीता राजवंशीको गुजारा पनि यसैले चलेको छ ।

चियापत्ती टिपेरै उनी तीनजना छोराछोरी बोर्डिङ पढाउँछिन् , घर खर्च चलाउँछिन् । दैनिक तीन सय रुपैयाँमा काम गर्ने उनले कहिलेकाहिँ ७० किलोभन्दा बढी नै पत्ती टिप्छिन् । उनले ३२ किलोभन्दा माथिको पत्तीको अतिरिक्त कमाइ गर्छिन् । दैनिक उनको सरदर कमाइ पाँच सय हुने गर्छ । झापा भद्रपुर २ की अम्बिका मगर पनि उनीसँगै चियापत्ती टिप्छिन् । ५० वर्षीया उनको कमाइ पनि उस्तै नै हो । बुहारीलाई घरको काम जिम्मा लगाएर आफू पत्ती टिप्न आउने गरेको उनले सुनाइन् । ‘जीविका चलाउने अरु केही छैन , घर खर्च चलाउनै प¥यो’ उनले भनिन् ,‘ तीन सय रुपैयाँले के नै हुन्छ र ! तर, नगरी पनि हुँदैन, हाम्रो काम काम जस्तो मात्रै भएको छ । ’ चार वर्ष अघिदेखि उनीहरूसँगै चियापत्ती टिप्दै आएकी पूजा चौहानले दैनिक पाँच– छ सय कमाउने गरेको सुनाइन् । सरदर ३२ किलोसम्म टिप्नेले दैनिक तीन सय पाउने हुन् । त्यसभन्दा बढी टिप्दा अतिरिक्त पारिश्रमिक पाउने गरेको हरियो पत्तीको व्यापार गर्दै गरेका नारायण दाहालले बताए । ‘३२ किलो मात्रै टिप्ने त्यो केही नै हुँदैन, सिजनमा एक सय किलोसम्म टिप्ने धेरै हुन्छन् ’ दाहाल भने,‘ उनीहरूले दैनिक पाँच सय कमाउँछन् मासिक १५– १६ हजार भयो भने परिवार मज्जाले चल्छ ।’ कमाइ नहुने हो भने उनीहरूले त्यो काम गर्ने नै थिएनन् । उनीहरू आफ्नो कमाइका बारेमा स्पष्ट बताउँन चाहदैनन् । उषा तामाङले आफ्नो कुरा पत्रिकामा छापिने डरले बोल्न नचाहेको संकेत गरिन् । ‘किन सोधेको पहिला भन्नुस् अनि मात्रै भन्छु’ बोल्न नचाहेकी उनले तर्कदै भनिन्, ‘पत्रिकामा छापिन्छ म भन्दिनँ ।’ आफ्नो काम र कमाइका बारेमा खासै बताउन नचाहने उनीहरू त्यही पेसामा भने रमाएका छन् । हाउभाउ, काम गर्ने लगाव र बोलीचालीले उनीहरू त्यो पेसामा बेखुसी नभएको स्पष्ट हुन्छ । घरबाट बिहानै खाना बनाएर पत्ती टिप्न जाने उनीहरू बगानमै खान्छन् र अपरान्ह घर फर्कन्छन् । निरन्तर १४– १५ वर्षदेखि त्यही काम गर्नु र किशोरीदेखि पाको उमेरका व्यक्तिसम्मले त्यही काम गर्नुले कर्मप्रतिको उनीहरूको लगाव झल्कन्छ । चिया क्षेत्रमा तीन प्रकृतिका श्रमिक कार्यरत छन् । स्थायी, अस्थायी र मौसमी गरी ४० हजार मजदुर रहेको नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दिपक तामाङले बताए। झापामा ७३ वटा चिया बगान छन् । ४१ वटा कारखाना छन् । त्यसमध्ये सातवटा सहकारीले चलाएका छन् । चिया प्याकेजिङ उद्योगको संख्या १७२ वटा छ । ती सबैमा दैनिक ज्यालादारीमा नै काम हुने गरेको छ । साना चिया किसानको संख्या पनि उल्लेख्य रहेको छ । झापामा मात्रै ५० हजार जतिलाई रोजगारी दिने चिया क्षेत्रमा काम गर्नेको दैनिकी चल्नकै लागि मात्र चलेको अध्यक्ष तामाङले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्