मेचीनगर, भदौ २२ । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोडले स्थापनाको १० वर्षे अवधिमा आज सदस्यलाई सबैभन्दा धेरै मृत्यु राहत सुविधा प्रदान गरेको छ ।

संस्थाको धुलाबारी सेवा केन्द्रअन्तरगतका सदस्य दिपककुमार क्षेत्रीको भदौ १४ गते ५७ वर्षको अल्पायुमा आकस्मिक निधन भएको थियो । क्षेत्रीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गर्न सिम्रिक साकोसका अध्यक्ष कमलबहादुर बस्नेसहितको टोली मेचीनगर ७ जोरसिमलस्थित क्षेत्री निवास गएको हो ।
मृतक क्षेत्रीको परिवारलाई भेटेर अध्यक्ष बस्नेत, कोषाध्यक्ष हरिप्रसाद कडरिया, सञ्चालक सदस्य इन्द्रबहादुर कार्कीसहित विभागीय कर्मचारीहरुले दुई लाख २८ हजार ७०० रुपैयाँ राहत प्रदान गरेका हुन् । संस्थाको धुलाबारी सेवा केन्द्रका प्रमुख अञ्जु प्रधानका अनुसार स्वर्गीय क्षेत्रीले संस्थामा एक लाख रुपैयाँको शेयर खरिद गरेका थिए भने आफू र परिवारको नाममा ५ वर्षे ५ वटा नियमित बचत खाता सञ्चालन गरेका थिए ।
केन्द्र प्रमुख प्रधानका अनुसार स्वर्गीय क्षेत्रीको परिवारलाई प्रदान गरिएको राहत सुविधा रकममा प्राकृतिक मृत्यु क्षतिपूर्ति वापत एक लाख रुपैयाँ, पाँच वर्षे नियमित बचतकर्ताको मृत्यु भएकोमा राहत सुविधा ८८ हजार ७०० रुपैयाँ रहेको छ । यसरी नै एक लाख रुपैयाँको शेयर भएका सदस्यको मृत्युमा प्रदान गरिने मानोचामल वापतको रकम ३० हजार र आजीवन राहतकोष सदस्य वापत १० हजार रुपैयाँ गरी दुई लाख २८ हजार ७०० रुपैयाँ नगदै प्रदान गरिएको हो ।
संस्थाका तालिम विभाग प्रमुख विजय बस्नेतले सहजीकरण गरेको श्रद्धाञ्जली कार्यक्रममा सञ्चालक सदस्य इन्द्रबहादुर कार्कीले संस्थाले तयार गरेको समवेदनापत्र वाचन गरेका थिए । श्रद्धाञ्जली कार्यक्रममा अध्यक्ष बस्नेतले संस्थाको सदस्य बनेर स्वर्गीय क्षेत्रीले आफूहरुलाई सदैव हौसला दिने गरेको स्मरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्